तिलोत्तमा — बुटवलमा सम्पन्न दशौं जिल्लास्तरीय एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
रुपन्देही जिल्लाभरिका तीन दर्जन विद्यालयलाई पछि पार्दै न्यू होराइजनले उपाधि जितेको हो । उसले कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई ३–० को सेटमा हराउँदै उपाधि कब्जा गरेको हो । उपाधिसहित न्यू होराइजनले ३० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र हात पार्यो ।
त्यस्तै प्रतियोगितामा द्वितीय बनेको कालिका मानवज्ञानले नगद २० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा कुवरवर्ती इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ । कुवरवर्तीले एभरेष्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–२ सेटमा हराउँदै तृतीय स्थान हासिल गरेको हो । कुँवरवर्तीले १० हजार, शिल्ड तथा प्रमाणपत्र पाएको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा न्यू होराइजनकी प्रतिमा रेगामी, उत्कृष्ट सेटर न्यू होराइजनकै प्रतिभा चौधरी, उत्कृष्ट ब्लकरमा कुँवरवर्तीका रजनी थारु, उत्कृष्ट स्पाइकरमा न्यू होराइजनकी डुमीसरा सारु, उत्कृष्ट लिवेरो कुँवरवर्तीकी आश्मा चौधरी र सर्वोत्कृष्ट खेलाडीमा न्यू होराइजनकी प्रतिभा चौधरी ले पुरस्कार प्राप्त गरे । साथै उत्कष्ट प्रशिक्षकका रुपमा न्यू होराइजनका उदय बम मल्ल पुरस्कृत भएको घिमिरेले बताए ।
प्रतियोगितामा विजयी विद्यालय तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख माधव बन्जाडेले शिक्षामा मात्र नभई खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा संस्थागत विद्यालयको भूमिका अतुलनीय रहेको बताए । उनले शिक्षण सिकाईसँगै अन्य गतिविधिमा विद्यार्थीहरुलाई बराबर सहभागी बनाउनु पर्ने भन्दै यसले शारीरिक र मानसिक रुपमा उनीहरुको विकासमा सघाउने बताए ।
