काठमाडौँ — योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्जमा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ ।
मलेसियाले मेन्स डबल्स, वुमन्स डबल्स र मिक्स डबल्सको उपाधि जितेको हो । मेन्स डबल्सतर्फ मलेसियाका लाउ यी सेङ र ली यी बोको जोडीले भारतका च्यानित जोशी र मायंक रानाको जोडीलाई २१–१४, २१–२३, २१–१७ ले पराजित गरेको थियो । वुमन्स डबल्सतर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाइल्यान्डका कोडचापोर्न चाइचाना र पन्नवी पोलियमको जोडीलाई २१–१३, २१–१४ ले हराएर उपाधि जित्यो ।
मिक्स डबल्सको फाइनलमा मलेसियाका लाउ यी सेङ र याप रु चेनको जोडीले थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोड्चापोर्न चाइचानाको जोडीलाई २१–१८, २१–११ ले पराजित गरेको थियो । यस इभेन्टमा नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले कांस्य जितेको थियो । उनीहरू थाइ जोडीसँग सेमिफाइनलमा पराजित भएका थिए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जमा मेन्स सिंगल्सतर्फ भारतका मेरादबा लुवाङ मैसनामले भारतकै बीएम राहुल भारद्वाजको जोडीलाई २१–१७, २१–१६ ले पराजित गरेर उपाधि जिते ।
वुमन्स सिंगल्सतर्फ थाइल्यान्डकी ललिनरात चाइवानले उपाधि जितिन् । उनले भारतकी इरा शर्मालाई २२–२०, २१–१२ ले हराइन् । हरेक विधाका विजेताले १२ सय डलर, दोस्रोले ७२० डलर र तेस्रोले ३ सय डलर पाए ।
जुनियर सिरिज शुक्रबारदेखि
योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज शुक्रबारदेखि हुने भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने तीन दिने सिरिजमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, यूएईका खेलाडीको सहभागिता रहनेछ । ५ विधामा ९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालका ८ महिला र ८ पुरुष खेलाडीले भाग लिएका छन् ।
