काठमाडौं जेभियर्स र हेम्स बास्केटबल च्याम्पियन

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Xaviers and Hemes Basketball Champions

काठमाडौँ — काठमाडौं जेभियर्स पब्लिक र हेम्सले १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दोहोरो उपाधि जित्नेक्रममा काठमाडौं जेभियर्सले जुनियर ब्वाइज र सिनियर गर्ल्समा सफलता पाएको हो । हेम्स  सिनियर ब्वाइज च्याम्पियन भयो । जुनियर काठमाडौं जेभियर्स र सियिनर हेम्स लगातार तेस्रोपटक च्याम्पियन भए ।

लिभरपुल स्कुलमा बिहीबार जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले मार्बलसलाई ३९–३१ स्कोरले हरायो । विजेताका अनमोल कुसुवारले ३० स्कोर जोडे । सनसाइन तेस्रो भयो । गर्ल्सको फाइनलमा काठमाडौं जेभियर्सले ११ र १२ औं संस्करण च्याम्पियन इनोभेटिभलाई २५–१६ स्कोरले हरायो । जेभियर्सकी दिप्रेन्जा बोहराले १७ स्कोर गरिन् । एसियन पब्लिक तेस्रो भयो ।

प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले सनसाइनलाई ५४–४० स्कोरले पराजित गर्दा सुशान्त आचार्यले १८ स्कोर जोडे । मार्बलस तेस्रो भयो । सिनियर ब्वाइजमा हेम्सका सुशान्त आचार्य, गर्ल्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका अनमोल कुसुवार ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । सिनियरमा सनसाइनका सोनाम तामाङ, गर्ल्समा इनोभेटिभकी विद्या कुमाल र जुनियरमा मार्बलसका नवीन कार्की सर्वाधिक स्कोरकर्ता भए ।

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), लिभरपुल र हेम्सले आफ्नो विधामा फेयर प्ले ट्रफी जिते । विजेतालाई काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष प्रेमकुमार राईलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully