काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु आवास क्षेत्रमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुक्त आयोजनामा भएको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो । यसको निर्माणका लागि कुल ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । कभर्ड हलको शिलान्यास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।
उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्ड हलको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए । श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धि हो । कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मद्दत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मद्दत पुग्ने हो ।’
