पाँचथर — न्यु रोड फुटबल टिम (एनआरटी) पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी सहलेश युथ क्लब सिरहालाई टाइबेकरमा ५-४ ले हराउँदै एनआरटीले ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको समयसीमाभित्र दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट छिनोफानो गरिएको हो । टाइब्रेकरमा सहलेशका तर्फबाट खेलेका विदेशी खेलाडी हेनरीले गोल गर्न चुकेपछि उक्त टिम एनआरटीसँग पराजित भयो । टाइबेकरमा एनआरटीका तर्फबाट क्रितिष हुराउ,अभिषेक लिम्बू सरोज तामाङ,अञ्जान बिष्ट र विदेशी खेलाडी क्यालर्सले गोल गरे भने सहलेशका तर्फबाट कुलदिप कार्की,विवेक राई,दोर्जे तामाङ र फागुराम थारुले गोल गरे ।
सहलेशका हेनरीले गरेको प्रहार एनआरटिका प्रमिजय गच्छदारले रोकेपछि उक्त टिम क्वाटर फाइनलबाटै घर फर्किन बाध्य भएको हो ।
बिहीबारको खेलमा एनआरटीका अभिषेक लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजारसहित पुरस्कृत भए । योसँगै फाल्गुनन्द गोल्डकपमा क्वार्टरफाइनल चरणका प्रतियोगिता सकिएका छन । शुक्रबार आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज क्लब काठमाडौंबीच सेमिफाइनल चरणको पहिलो खेल हुने तालिका छ ।
पुस ६ गते सुरु भएको प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।
