एनआरटी र सहलेसबीच प्रतिस्पर्धा हुँदै
पाँचथर — पाँचथरको फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्ड कपमा आज क्वाटरफाइनल चरणको अन्तिम खेल हुँदैछ ।
प्रतियोगितामा न्युरोड टिम इलाम (एनआरटी) र सहलेस फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
यसअघि चर्च ब्वाइज क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, र फिदिम स्पोर्टिङ क्लब आआफ्ना प्रतिस्पर्धीहरूलाई हराएर सेमिफाइनलमा पुगिसकेका छन् ।
आज हुने प्रतियोगिताको विजेता पनि सेमिफाइनलमा पुग्नेछ । शुक्रबारदेखि सेमिफाइनल चरणका खेल सुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।
पुस ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । जसमध्ये त्रिभुवन आर्मी क्लब, करसाङ फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब मोरङ र झापा-११ खेलबाट बाहिरिइसकेका छन् ।
प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ । फाल्गुननन्द गोल्ड कपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
नेपालका १६ औँ विभूति फाल्गुननन्द लिङदेनको स्मृतिमा २०६५ सालदेखि सुरु भएको फाल्गुननन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो ।
दसौं संस्करण पूरा भएपछि खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई यस वर्ष एघारौँ संस्करणका रूपमा निरन्तरता दिइएको हो ।
