साबिक विजेता दोलखा चेस होमको हार

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Defeat of former champion Dolakha Chase home

काठमाडौँ — सातौं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपको पहिलो चरणमा इन्जिनियरिङ कलेज टिमले डिफेन्डिङ च्याम्पियन टोलीलाई अप्रत्यासित हार चखाएका छन् ।

इन्जिनियरिङ टिमका आशिष भुसालले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सजन काफ्लेले प्रकाशचन्द्र नेपाल र सम्यक श्रेष्ठले पूजा भण्डारीलाई हराए भने महेश खड्का सीएम पुरुषोत्तम चौलागाईंसँग पराजित भएका थिए ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको क्लब टिम चेस प्रतियोगिताको पहिलो दिन ललितपुर महानगरपालिका टिमले सानदार खेल प्रदर्शन गरेर २ अंक जोडेको छ । महानगरका एफएम रुपेश जैसवाल, सीएम मिलन लामा, पुरुषोत्तम सिलवाल र अभिक साहले ४–० को जित निकाले ।

२ अंक जोड्ने क्रममा गोदावरी नगरपालिका (सानुभाइ महर्जन, जनार्दन श्रेष्ठ, सोम आले र हर्षवर्धन राठी) ले हिमालयन नेक्सजेनविरुद्ध ४–० को जित पाएको थियो ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबले तुल्सीलाल प्रतिष्ठानको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

कोशी प्रदेश बुद्धिचाल संघले हिमालयन चेस एकेडेमीमाथि ४–० को जित पायो । कोशीबाट मुहान नरसिंह श्रेष्ठ, राजेन्द्र राई, सुसन आचार्य र कृतिसरा अधिकारीले खेलेका थिए ।

आयोजक ललितपुर स्पोर्ट्स क्लबले पनि डाइनामिक चेस क्लब लहानलाई ४–० को स्कोरले हरायो । आयोजकका सीएम सजिन महर्जन, शैलेन्दै न्यौपाने, रिशोन थापा र बिनिता कपालीले खेलका थिए ।

पूर्व उपविजेता भक्तपुर जिल्ला बुद्धिचाल संघ, दोलखा जिल्ला बुद्धिचाल संघ, थापाथली चेस पार्क र पुल्चोक इन्जिनियरिङ कलेज टिम विजयी भए । क्लब टिम च्याम्पियनसिप ७ चरणको लिग खेलपछि सेमिफाइनल र फाइनल हुनेछ । विजेताले २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रोले ६० हजार र चौथो हुने टिमले ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने हरेक बोर्डका उत्कृष्ट खेलाडीले १० हजार जनही पाउने छन् ।

कान्तिपुर

Link copied successfully