ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि नयाँ कार्यसमिति 

पुस ९, २०८१

आनन्द गौतम

New Executive Committee for Conducting Taplejung Gold Cup

ताप्लेजुङ — तेस्रो संस्करणको ‘ताप्लेजुङ गोल्डकप’ सञ्चालनका लागि आयोजक संस्था ‘लाखे जात्रा सञ्चालन समिति’को नयाँ कार्य समिति चयन भएको छ । दुईवटा खेल सञ्चालन गरेका देवराज गुरुङले छोडेपछि सागर मादेनको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा अशोक थेबे र हर्कराज सुनुवार, सचिवमा टिकेन्द्र नेपाली सहसचिवमा डिल्ली गुरुङ र कोषाध्यक्षमा दावा शेर्पा चयन भएको मादेनले जानकारी दिए । उत्सव साँवा, दिपेश खवास, जित थेवे, सन्तोष गुरुङ, जीवन इवाराम, पूर्ण गुरुङ, कमल लेछर्वो, गीता  पालुङ्वा  र लाक्पा शेर्पा चयन भएका छन् । 

लाखेजात्राको अवसरमा सञ्चालित फुटबल कोरोना संक्रमणका कारण २०७७ देखि ७९ सम्म स्थगित भएको थियो । ०२९ सालदेखि सुरु भएको प्रतियोगिता कञ्चनजंगा, पाथीभरा गोल्डकपलगायत विभिन्न नामबाट चलेको थियो । ०८० सालमा भने ११ दिनको तयारीमा ताप्लेजुङ गोल्डकपको नामबाट फेरि सुरु भएको हो । यसको नेतृत्व गुरुङले गरेका थिए । 

२०६४ सालदेखि भने जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई लाखेजात्राको अवसरमा प्रतियोगिता सञ्चालन भएको हो । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully