करणले जिते कोल्मा क्रसकन्ट्री

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Karan won the Colma Cross Country

स्याङ्जा — आर्मीका धावक करण रावलले कोल्मा क्रसकन्ट्री दौडको उपाधि जितेका छन् । सोमबार पुतलीबजार नगरपालिका–९ कोल्मामा भएको पाँचौं संस्करणको क्रसकन्ट्री दौड करणले एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उनले ५० हजार रुपैयाँ जिते ।

आर्मीकी टंकबहादुर कार्की दोस्रो र रमेश लिम्बू तेस्रो भए । २५ किलोमिटरको दूरी टंकले १ घण्टा ३२ मिनेट ९ सेकेन्ड र रमेशले १ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरे । टंकले ४० हजार र रमेशले ३० हजार पाए ।

रुकुमका दुर्गाराज बुढा १ घण्टा ३८ मिनेट १३ सेकेन्डबाट चौथो भए । दौड कोल्मा बराहचौरबाट सुरु भई सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन: बराहचौरमा आएर टुंगिएको आयोजक सातसय कोल्मा बाहकोट सम्पर्क मञ्चका महासचिव जीवन पोखरेलले बताए । २१ वर्षमुनि पुरुषतर्फ १० किमितर्फ सनम गुरुङ विजेता बने । उनले ४६ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरे । पदमबहादुर मानन्धर दोस्रो र रुद्र बुढाथोकी तेस्रो भए । उनीहरूले क्रमश: ४९ मिनेट ३५ सेकेन्ड र ५० मिनेट १४ सेकेन्ड लगाए । विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाए ।

महिला खुलातर्फ १० किमिमा रविना बुढामगर १ घण्टा १२ मिनेट २६ सेकेन्डबाट विजेता बनिन् । विमला मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डबाट दोस्रो भइन् । रविनाले १५ हजार र विमलाले १० हजार जिते ।

कान्तिपुर

Link copied successfully