काठमाडौँ — दोस्रो थन्डर बोल्ट्स कप खेलकुदको उपाधि आयोजक जेम्स स्कुलले जितेको छ । मंगलवार सम्पन्न अन्तिम प्रतिस्पर्धाको नतिजाका आधारमा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बन्यो ।
एभीएम स्कुलले दोस्रो र नेपाल पुलिस स्कुलले तेस्रो स्थान हात पारे । दुवै स्कुलले समान २३ अंक प्राप्त गरेको भए पनि बढी स्वर्ण जितेको आधारमा एभीएम दोस्रो भयो ।
११ खेल, २८ विधामा प्रतिस्पर्धा हुँदा सबैभन्दा बढी अंक प्राप्त गरेको जेम्सले च्याम्पियन्स कपसहित ५ लाख रुपैयाँ पायो । पहिलो संस्करणमा पनि जेम्स नै च्याम्पियन बनेको थियो ।
११ दिने प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी स्कुल र ४ हजारभन्दा बढी विद्यार्थीको सहभागिता थियो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विजेता छात्र–छात्रा, विजेता टिम र स्कुललाई पदक र ट्रफी प्रदान गरे ।
आयोजक स्कुलका तर्फबाट खेलकुद निर्देशक सौरभ सिंहले आउँदा वर्षमा देशव्यापी रूपमा अझ धेरै विद्यालयको सहभागिता रहने गरी प्रतियोगिता झन ठूलो आयोजना गर्ने बताए ।
