काठमाडौँ — मार्वलसको दुई टोली १३ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेको छ ।
सिनियर ब्वाइजमा मार्वलसले स्वप्न बाटिकालाई ४०–३२ स्कोरले हरायो । मार्वलसका रोहित दाहालले १५ स्कोर गरे । जुनियर ब्वाइजको क्वाटरफाइनलमा नवीन कार्कीको १७ स्कोरप्रेरित मार्वलसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) माथि ४५–२८ स्कोरले जित पायो ।
सिनियर ब्वाइजमा एआईएले काठमाडौं जेभियर्स पब्लिकलाई ३९–३१, सनसाइनले अल्बर्टलाई ८२–१८ र हेम्सले अक्षरालाई ४६–२६ ले पाखा हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । एआईएका सुबोध केसीले १६, सनसाइनका सोनाम तामाङले ४१ र हेम्सका सुशांक आचार्यले १७ स्कोर गरे ।
जुनियर ब्वाइजमा हेम्सले स्पाङ्गेललाई २८–१६, काठमाडौं जेभियर्सले एसियन पब्लिकलाई ४६–१३ र सनसाइनले लिटिल फ्लावरलाई ४९–२३ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए । हेम्सका प्रेनिस दासले १४, काठमाडौं जेभियर्सका अनमोल कुसुवारले २६ र सनसाइनलका ऋतिक गिरीले ४६ अंक जोडे ।
सिनियर गर्ल्समा काठमाडौं जेभियर्सले स्पाङ्गेललाई ३२–१०, एसियन पब्लिकले श्रृजन्शिललाई १२–४, लिभरपुलले स्वप्न वाटिकालाई १२–७ र इनोभेटिभले चैतन्य शिक्षा संस्कारलाई १९–६ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । काठमाडौं जेभियर्सकी दिप्रान्जा बोहराले १८, एसियन पब्लिककी आकृति माझीले ५, लिभरपुलकी मर्फिना गुरुङले ४ र इनोभेटिभकी विद्या कुमालले ६ स्कोर बटुले ।
सेमिफाइनलका खेल लिभरपुल स्कुलमा हुनेछ । यसअघि जुनियर ब्वाइज र सिनियर गर्ल्सका खेलहरु काठमाडौं जेभियर्समा भएको थियो ।
