काठमाडौँ — यूएईको अबुधाबीमा गत महिना फाल्डो सिरिजको जुनियर टुर युरोप ग्रान्ड फाइनलमा यू–२१ को उपाधि जितेर इतिहास रचेका नेपाली गल्फर सद्भाव आचार्य मंगलबार सम्मानित भएका छन् । नेपाल गल्फ संघले सद्भावलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
नेपाल नम्बर वान एमेच्योर गल्फर सद्भावले विदेशी भूमिमा जितेको यो पहिलो व्यक्तिगत उपाधि हो । अल आइन इक्वेस्टेरियन सुटिङ एन्ड गल्फ कोर्समा सद्भावले ५ अन्डर २०५ को स्कोर गर्दै उपाधि जितेका थिए । त्यसक्रममा उनले डेनमार्कका भिक्टोर कोफोर्ड उस्लेनलाई २ स्ट्रोकले पछाडि पारेका थिए ।
सद्भावलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, गल्फ संघका अध्यक्ष टासी घले, वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, कोषाध्यक्ष किसनकुमार अग्रवाल लगायतले ताम्रपत्र र नगद हस्तान्तरण गरेका थिए । अध्यक्ष घलेले अर्को एसियाली खेलकुदमा सद्भावले अझ राम्रो गर्ने र त्यसले आउँदो ओलम्पिकलाई पनि सघाउने पुग्ने विश्वास लिएको बताए ।
सदस्यसचिव घिसिङले गल्फ संघले राम्रो गरिररहेको र मिसन २०२६ मा पनि गल्फलाई समावेश गरिएको बताउँदै गल्फलाई परिषद्को साथ र सहयोग निरन्तर रहने बताए । सद्भावले आफ्नो सफलताका लागि साथ दिने सबैप्रति धन्यबाद व्यक्त गरे । उनले हालै सम्पन्न सूर्य नेपाल काठमाडौं ओपनमा ३० वर्षदेखि रहेको कीर्तिमान तोड्दै १५ अन्डर खेलेर उपाधि जितेका थिए ।
