फाल्गुनन्द गोल्डकप : मच्छिन्द्रले सुनसरीलाई ६–२ ले हरायो

पुस ९, २०८१

लक्ष्मी गौतम

Falgunand Gold Cup: Machindra beat Sunsari 6-2

पाँचथर — मच्छिन्द्र फुटबल क्लब काठमाडौं फिदिममा जारी फाल्गुनन्द गोल्कपको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार फुटबल क्लब सुनसरीलाई ६–२ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब एघारौं संस्करणको फाल्गुनन्द गोल्डपको अन्तिम चारमा पुग्न सफल भएको हो ।

मच्छिन्द्रका तर्फबाट बिजु भुजेलले मात्रै २ गोल गरे । उनले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गर्दै टिमको खाता खोले । जवाफमा सुनसरीका सुशील राईले १३औं मिनेटमा गोल फर्काए । मच्छिन्द्रका उनै बिजु भुजेलले १४ मिनेटमा पुनः दोस्रो गोल गरे ।

मच्छिन्द्रका तर्फबाट तेस्रो गोल आदित्य शाक्यले ४२औं मिनेटमा गरे भने मध्यान्तरपछि ५७औं मिनेटमा मनिष डाँगी चौथो गोल गर्न सफल भए । ६१औं मिनेटमा सुनसरीका सञ्जय श्रेष्ठले आत्मघाती गोल गरेसँगै   मच्छिन्द्र सुनसरीविरुद्व ५–१ गोल अन्तरले अघि बढ्यो ।

६७औं मिनेटमा सुनसरीका सन्दीप श्रेष्ठले थप १ गोल गरे पनि मच्छिन्द्रलाई पछ्याउन त्यो पर्याप्त भएन । ८४औं मिनेटमा मच्छिन्द्रका सौरभ सुब्बाले १ गोल थपेपछि सुनसरीलाई ६–२ को फराकिलो अन्तरले पछि पार्न सफल भएको हो ।

मंगलबारको प्रतियोगितामा मच्छिन्द्रका गोल सनिष श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजारसहित पुरस्कृत भए ।

पुस ६ गते सुरु भएको प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully