काठमाडौँ — डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मूलपानी मैदानमा भएको फाइनलमा गेटवेले ब्रह्मकुञ्जलाई २–१ गोलअन्तरले पराजित गर्यो । हाइली क्रिएटिभ तेस्रो भयो । हाइली क्रिएटिभले ओरियन्टललाई ५–१ गोलले सहजै हरायो ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । फेकाद्वारा आयोजित प्रतियोगितामा ओरियन्टलका मनोज राम उत्कृष्ट खेलाडी घोषित भए । डिफेन्समा ब्रह्मकुञ्जका एलेक्स कुँवर, गोलरक्षकमा ब्रह्मकुञ्जका सन्दीप राई, मिडफिल्डमा गेटवेका प्रतीक रायमाझी र प्रशिक्षकमा गेटवेका सुजन नापित उत्कृष्ट चुनिए ।
ओरियन्टलका रोशन पक्वाल उदीयमान खेलाडी बने भने प्रतियोगिताभर ६ गोल गरेका गेटवेका प्रदीप खत्री सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । कौस्तुभ एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले पुरस्कृत गरे । मंसिर २८ गतेदेखि सुरु प्रतियोगितामा २५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
