एनएनआईपीए अवार्ड पुस २० मा हुने

पुस ८, २०८१

कान्तिपुर संवाददाता

NNIPA Awards will be held on December 20

काठमाडौँ — एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० मा हुने भएको छ । यसपल्ट काठमाडौंको तार्केश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले जनाएको छ ।

हरेक वर्ष फरक स्थानमा आयोजना गर्दै आएको अवार्डको यसपालिको संस्करणका लागि एनएनआईपीएले तारकेश्वर नगरपालिकासँग सम्झौता गरेको छ । सोमबार तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जन र एनएनआईपीए अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ ।

चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा हरेकका खेलाडीलाई वर्ष खेलाडीको रूपमा पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसबाट १–१ पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिनेछ । उनीहरूले जनही एक लाख पाउनेछन् । त्यस्तै १–१ पुरुष/महिला खेलाडीले प्रतिभाशाली खेलाडी सम्मान पाउनेछन् । उनीहरूले जनही ५० हजार पाउनेछन् । 

खेलकुदमा लामो समय योगदान गरेका पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिने भएको छ । एनएनआईपीए खेल पत्रकारिता पुरस्कार एक खेल पत्रकारलाई सम्मान गरिने छ । दुवै विधाका सम्मानितलाई ३५ हजार प्रदान गरिने छ । पाराका एक खेलाडीले वर्षका उत्कृष्ट पारा खेलाडी सम्मान पाउनेछ । पारा खेलाडीलाई १५ हजारबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully