फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा 

पुस ८, २०८१

लक्ष्मी गौतम

Falgunand Gold Cup: Fidim Sporting Club beat Tribhuvan Army in the semi-finals

पाँचथर — आयोजक फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार फिदिम माविको खेल मैदानमा आयोजित अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै आयोजक टिम सेमिफाइनलमा यात्रा सुरक्षित गरेको हो । 

निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि टाइबेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा फिदिम स्पोर्टिङ क्लबका आशिष चापागाईं, विशाल दर्जी,राम वाजी र निरोज लिङ्देनले गोल गरे भने आर्मीका निरजकुमार घिसिङ र सन्तोष केसीले मात्रै गोल गरे ।

आर्मीका सिद्धान्त चौधरी र सुजित शाहीसँगै आयोजक टिमका सुकराज राई गोल गर्नबाट चुके । सोमबारको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबका विशाल दर्जी म्यान अफ द म्याच घोषित हुँदै १० हजार नगदसहित पुरस्कृत भए ।

मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र न्यु स्टार सुनसरीबीच प्रतिस्पर्धा हुने छ । पुस ६ गते प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully