काठमाडौँ — बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपल्ट च्याम्पियन बन्न सफल भयो ।
चाबहिलमा सोमबार भएको प्रतियोगिताको फाइनलमा बौद्धले फ्रिडम एक्सपर्टलाई २–० गोलले पराजित गर्यो । बौद्धका सञ्जय लामा र उमेश लामाले १–१ गोल गरे । उमेश नै म्यान अफ द फाइनल बने । बौद्धले १ लाख र फ्रिडमले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमका निलेन्द्र देवान म्यान अफ द टुर्नामेन्ट घोषित भए । फ्रिडमकै प्रकाश राना उत्कृष्ट खेलाडी चुनिए । बौद्धका धर्मेन लामा उत्कृष्ट गोलरक्षक र कृष्ण लामा उत्कृष्ट डिफेन्डर बने । चारैले जनही ५ हजार पुरस्कार पाए ।
विजेतालाई आयोजक वडा नम्बर-७ का अध्यक्ष विमलकुमार होडालगायतले पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
