नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा स्टार कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । योङ् स्टार क्लबको आयोजनामा पुस १० देखि १२ गतेसम्म विभिन्न उमेर समूहको प्रतियोगिता हुने भएको हो ।
पुरुष ए, बी, महिला र जुनियर अन्डर–१७ गरी ७० टिम सहभागी हुने आयोजक क्लबका अध्यक्ष आनन्द गुरुङले बताए । प्रतियोगिताका विजेतालाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय स्तरको ब्याडमिन्टन खेलाडीको दक्षता वृद्धि गर्न, मोफसलमा रहेका खेलाडीको दक्षतालाई राष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्यसाथ प्रतियोगिता गर्न लागिएको हो । विशेष गरेर युवकयुवतीमा लागूऔषध दुर्व्यसनीसम्बन्धी जनचेतना जगाउने र खेलप्रति रुचि बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नवलपुर र पश्चिम नवलपरासीका खेलाडीको सहभागिता रहनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले प्रदेशले खेलाडीको पारिश्रमिक, सुविधा, पेन्सन र पदकका लागि कार्यविधि निर्माण गरिरहेको बताए । खेलकुदको विकासका लागि सरकार, समुदाय र निजी क्षेत्र सबैको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।
