फाल्गुनन्द गोल्डकप : मछिन्द्रसँग झापा स्तब्ध

पुस ७, २०८१

लक्ष्मी गौतम

Falgunand Gold Cup: Jhapa shocked by Machindra

पाँचथर — मछिन्द्र फुटबल क्लब काठमाडौं फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धी झापा ११ लाई ५–० गोल अन्तरले हराउँदै उक्त क्लबले क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेको हो । मछिन्द्रको जितमा बिजु भुजेलले २ गोल गरे ।  खेल सुरु भएको ११औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै आफ्नो टिमको खाता खोले भने दोस्रो गोल ३० औं मिनेटमा उत्सव राईले गरे ।

तेस्रो गोल मध्यान्तरअघिको अतिरिक्त समयमा बिजु भुजेल,चौथो गोल ७९ औं मिनेटमा  सौरभ लिम्बू र पाँचौँ गोल ९०औं मिनेटमा बिजु भुजेलले गरेका थिए ।

फाल्गुनन्द गोल्डकपमा सोमबारदेखि क्वार्टरफाइनल चरणका खेल सुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।पहिलो क्वार्टरफाइनल त्रिभुवन आर्मी क्लब काठमाडौ र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच दिउँसो २ बजे सञ्चालन हुने बताइएको छ ।

फिदिम माविको खेल मैदानमा जारी एघारौं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पुस ६ गतेदेखि सुरु भएको हो । 

प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित १० टिमले भाग लिएका थिए । जसमध्ये करसाङ फुटबल क्लब भारत र झापा ११ पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिता पुस १५ गते सम्पन्न हुनेछ । एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाल्गुनन्द गोल्डकपको प्रवर्द्धन फिदिम नगरपालिकाले गरेको हो । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully