दीपेन्द्रलाई कार, ललितलाई मोटरसाइकल

पुस ७, २०८१

विनोद पाण्डे

A car for Dipendra, a motorcycle for Lalit

काठमाडौँ — सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएवापत कार पुरस्कार पाएका छन् । एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौताअनुरुप एसपीजी अटोमोबाइल्सले दीपेन्द्रलाई कार प्रदान गरेको हो ।

बजार मूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार दीपेन्द्रले मैदानमै कुदाएका थिए । सुदूरपश्चिमले उपविजेता भएर पाएको ५१ लाखभन्दा ११ लाख बढी पर्ने कार दीपेन्द्रले पाएका हुन् । उनले प्रतियोगितामा २ सय २७ रन बनाउनुका साथै ८ विकेट लिएका थिए । उनले ३ क्याच लिनुका साथै ७ रनआउट गर्ने भूमिकामा पनि उनी रहे ।

फाइनलमा भने दीपेन्द्र खासै चल्न सकेनन् । उनले ब्याटिङमा ७ बलमा ९ रनमात्र बनाउन सके भने बलिङमा ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिएका थिए । जनकपुर बोल्ट्स विजय नजिक पुगेको समयमा उनले जिम्मी निसमलाई बोल्ड गरेका थिए । 

जैब उत्कृष्ट खेलाडी

सुदूरपश्चिमकै इंग्ल्यान्डका सैफ जैब प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । उनले ५ लाख पाए । ओपनिङ ब्याटर उनले २ सय ७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए । अन्य व्यक्तिगत विधामा भने जनकपुरका खेलाडी हाबी रहे । 

श्रीलंकामा जन्मिएका अमेरिकाका लाहिरू मिलान्था एनपीएलको पहिलो सिजनमा उच्च स्कोरर बने । फाइनलमा सुदूरपश्चिमविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले इंग्ल्यान्डका रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।

फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका जैब, जनकपुरकै जिम्मी निसम र सुदूरपश्चिमका विनोद भण्डारी अगाडि थिए ।

बोपाराले ८ खेलमा २ सय ८६ रन बनाएका थिए । उनको टोली चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो । अंकतालिकाको पुछारमा रहेको लुम्बिनीबाट रोहितले ७ खेलमा २ सय ७९ रन बनाएका थिए । फाइनलको इनिङ्सले जैबको कुल स्कोर २ सय ७५ र विनोदको स्कोर २ सय ३५ रनमा पुर्‍याएको थियो ।

फाइनलअघि मिलान्थाको २ सय ६ रन थियो । फाइनलमा ८७ रन बनाएपछि मिलान्था २ सय ९३ रनसहित एनपीएलको सर्वाधिक रनकर्ता बनेका हुन् । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । मिलान्थाले १३० माथिको स्ट्राइक रेटमा उक्त रन बनाएका हुन् । फाइनलमा निसमले ४ रनमात्र बनाउन सके । उनको कुल २ सय ४७ रन पुगेको थियो ।

प्लेयर अफ द फाइनल भएर ५० हजार पाएका मिलान्था प्रतियोगितामा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पनि बने । ३५ चौका प्रहार गरेका उनलाई २ लाख प्रदान गरिएको थियो । जनकपुरकै निसमले रेडबुल इनर्जेटिक प्लेयरको उपाधि पाए । उनले प्रतियोगितामा २३ छक्का र १४ चौकासहित २ सय ४७ रन बनाएका थिए । 

ललितलाई मोटरसाइकल

जनकपुरकै ललित राजवंशीले उत्कृष्ट बलर हुँदै इलेक्ट्रिक मोटरसाइकल पुरस्कार पाए । ललित र सुदूरपश्चिमका स्कट कुग्लेन समान १७ विकेटसहित एनपीएलको पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । फाइनलअघि दुवैको समान १६ विकेट थियो ।

सुदूरपश्चिमले फाइनलमा आक्रामक सुरुआत गर्दै २ ओभरमा २८ रन जोडेपछि ललित जनकपुरको आक्रामण मोर्चा सम्हाल्न आइपुगेका थिए । आफ्नो पहिलो ओभरमा ४ रनमात्र खर्चेका उनले पाँचौं ओभरमा मेडन फालेर सुदूरपश्चिमको रनमा अंकुश लगाए ।

१३ औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका ललितले उक्त ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई ४१ रनमा बोल्ड गरेका थिए । उनले आफ्नो पहिलो ३ ओभरमा ८ रनमात्र खर्चेका थिए । १७ औं ओभरमा आफ्नो चौथो ओभरमा केवल ७ रनमात्र खर्चेका ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर १ विकेट लिए ।

‘मेरा लागि ललित नै प्रतियोगिताको उत्कृष्ट खेलाडी हुन् । दीपेन्द्रसहित केही खेलाडीका लागि यो राम्रो प्रतियोगिता भएको छ, तर ललितको प्रदर्शन निकै निर्णायक समयमा आएको छ । उनले धेरै ओभर पावर प्लेमा फालेका छन् र डेथ ओभरमा पनि त्यति नै किफायती भएका छन्,’ जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘उनले धेरै खेलमा यस्तो प्रर्दशन देखाएका छन् । 

औसतमा ललितभन्दा कुग्लेन अगाडि रहे । कुग्लेनले ९ खेलमा १२.३५ को औसत र ललितले १० खेलमा १२.५२ को औसतमा विकेट लिएका हुन् । चितवन राइनोजका सोहेल तनवीर र जनकपुरका किशोर महतोले समान १४, कर्णाली याक्सका विपिन शर्मा र चितवनका रिजन ढकालले समान १३ तथा सुदूरपश्चिमका सैफ जैब, काठमान्डु गुर्खाजका करण केसी र जनकपुरमा मोहम्मद मोहसिनले समान १२ विकेट लिएका छन् । 

ट्यालेन्ट हन्टबाट आएका विपिनले इमर्जिङ खेलाडीको पुरस्कार पाए । उनलाई ५० हजार प्रदान गरियो भने उनलाई प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको थियो । फेयर प्लेको उपाधि लुम्बिनी लायन्सले पाएको थियो ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully