पुसे मेला भलिबलको उपाधि भोजपुरलाई

पुस ६, २०८१

आनन्द गौतम

Pusey Mela volleyball title to Bhojpur

ताप्लेजुङ — पुसे मेलाको अवसरमा आयोजित अन्तर जिल्ला आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । शुक्रबार बेलुका सम्पन्न प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पाथीभरा टाइगर क्लब झापालाई सोझो सेटमा हराउँदै भोजपुर भलिबल टिमले उपाधि जितेको हो ।

मेरिङ्देन गाउँपालिकाको दोभान बजारमा भएको फाइनल खेलमा भोजपुरले झापालाई २५–२१, २५–१६ र २५–२३ ले पराजित गर्‍यो । भोजपुरले ट्रफी, मेडल सहित ३ लाख नगद प्राप्त गर्दा झापाले १ लाख ७५ हजारमा चित्त बुझाउनुपर्‍यो ।

पर्शुराम खत्रीको नेतृत्वमा भोजपुर प्रतियोगितामा सहभागी भएको थियो । उत्कृष्ट स्पाइकर सञ्जीव बिक्रम शाह झापा, उत्कृष्ट सटर भोजपुरका मनोज घिमिरे, उत्कृष्ट डिफेन्डर सन्तोष राई सभापोखरी भलिबल क्लब, उत्कृष्ट ब्लकर रोमन बस्नेत भोजपुर, उत्कृष्ट सर्भर हेमन्त मल्ल एसएमसी र उत्कृष्ट खेलाडी विष्णु बस्नेत भोजपुर भए । शुक्रबारै सेमिफाइनल र फाइनल चरणका खेल भएका थिए ।

सेमिफाइनलबाट बाहिरिएका मुकेश मेमोरियल क्लब ताप्लेजुङ र सभापोखरी भलिबल क्लब सङखुवासभालाई  आयोजकले सान्त्वना स्वरूप नगद ५० हजारका दरले प्रदान गर्‍यो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully