उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात पार्ने, नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि
काठमाडौँ — आम नेपालीमाझ क्रिकेटबारे कौतूहल मात्र होइन, मिठो लत बसाल्दै नेपाली प्रिमियर लिग (एनपीएल) आज शनिबार सकिँदै छ । एनपीएलकै कारण कम्तीमा तीन साता नेपाली खेलकुद क्रिकेटमय रह्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै गएर लाखौंले प्रत्यक्ष खेल हेरे । त्योभन्दा धेरैगुणा बढीले टेलिभिजन र अन्य माध्यमबाट एनपीएलको मज्जा लिए । कोही कसैसँगको भेटमा पनि चर्चा यही फ्रेन्चाइज क्रिकेट एनपीएलको रह्यो । नेपाली घरेलु क्रिकेट इतिहासमै यो अहिलेसम्मकै ठूलो खेल पनि हो ।
मुख्य प्रश्नको उत्तर पाउन भने अझै बाँकी छ । एनपीएलको पहिलो च्याम्पियन कुन टिम होला त ? फाइनलमा भिड्दै छन्, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स । यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो ।
त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ । नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । दोस्रो हुनेको भागमा जानेछ ५१ लाख रुपैयाँ ।
प्रतियोगितामै उत्कृष्ट हुने नेपाली खेलाडी को हुनेछन् त भन्ने जिज्ञासा पनि व्यापक छ । किनभने उत्कृष्ट एक खेलाडीले कार पुरस्कार जित्नेछन् । यस पुरस्कारका प्रमुख प्रत्याशीले नै फाइनल खेल्ने हुँदा सबैको ध्यान व्यक्तिगत प्रदर्शनमा पनि जानेछ ।
एनपीएलमा दर्शकको ‘क्रेज’ कस्तो छ भने फाइनल खेलका लागि बिहीबार अनलाइनमा टिकट बिक्री खुलाएको केही बेरमै सबै ‘सोल्डआउट’ भएको थियो । उद्घाटन खेलका लागि पनि तीन दिनअघि नै सबै टिकट बिक्री भएको थियो । यसबीचका खेलमा पनि त्रिवि क्रिकेट मैदानमा दर्शक ओरिएका थिए ।
आठ टिम सहभागी एनपीएलको लिग चरण सकिँदा सुदूरपश्चिम र जनकपुर नै शीर्ष दुई स्थानमा थिए । जनकपुर सुरुवाती केही चरणका खेलपछि पहिलो स्थानमा थियो । पछि उसलाई सुदूरपश्चिमले उछिनेको हो । लिग चरणमै धेरैले यिनै दुई टिम फाइनल पुग्ने अनुमान गरेका थिए ।
मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा उत्रेको सुदूरपश्चिमले लिग चरणमा एउटा खेल मात्र गुमाएको थियो, जुन चितवन राइनोजसँगको थियो । आसिफ शेख मार्की र अनिल शाह कप्तान रहेको जनकपुरले लिग चरणका ७ मध्ये ५ खेल जितेको थियो ।
हारेका दुई खेलमध्ये एउटा सुदूरपश्चिमविरुद्ध नै रह्यो । चितवन त्यस्तो टिम रह्यो, जसले सुदूरपश्चिम र जनकपुर दुवैलाई हराएको थियो । प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । त्यस खेलमा सुदूरपश्चिमको जित अन्तर रह्यो, ८ विकेट । जनकपुरले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।
त्यसमा जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाएका थिए । त्यसपछि शुभ कंशाकारको २६ रनको योगदान रह्यो । जवाफमा सुदूरपश्चिमले २ विकेट गुमाएर सजिलै १ सय ४१ रन बनायो । टोलीले १८.३ ओभरमै लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमबाट विनोद भण्डारीले नटआउट रही ५८ रन बनाए । उनले सैफ जैबसँग पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
फाइनल प्रवेशका लागि जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पन्छाएको थियो । त्यस खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै ९ विकेटमा १ सय १८ रन बनाएको थियो । जवाफमा जनकपुरले ८ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । जनकपुरले एक ओभरको खेल अगाडि नै २ विकेटको जित आत्मसात् गर्यो ।
फाइनललाई धेरैले एनपीएलको ‘एल क्लासिको’ को संज्ञा दिएका छन् । स्पेनी फुटबलमा जति बेला दुई चरम प्रतिद्वन्द्वी टिम रियल म्याड्रिड र बार्सिलोना आपसमा भिड्ने गर्छन्, त्यसलाई ‘एल क्लासिको’ भन्ने गरिन्छ ।
त्यसैलाई पछ्याएर विश्व खेलकुदमा जति पनि दुई ठूला टिम आपसमा खेल्ने गर्छन्, त्यसलाई यही नामले चिनाउन गरिन्छ– ‘एल क्लासिको’ । सुदूरपश्चिम र जनकपुर यसपल्टको प्रतियोगिताका प्रमुख दुई ठूला टिम साबित भएका हुनाले पनि यिनीहरूको भिडन्तले यही नाम पाएको छ ।
फाइनलको पूर्वसन्ध्यामा मिडियासँग कुराकानी गर्ने क्रममा दुवै टोलीका कप्तान संयमित देखिए । दुवैले कुनै प्रकारको ठुल्ठूला दाबी गरेनन् । बरू दुवैले एकअर्काप्रति सम्मान दिएर ‘माइन्ड गेम’ खेल्ने प्रयास गरे । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई कुनै पनि हालतमा सहज नलिने बताए ।
‘हामीले जनकपुरलाई यसअघि दुईपटक हराइसकेका छौं । तर यस्तो भनिरहँदा फाइनलमा हामीले सहज रूपमा लिनुहुन्न, जनकपुर निकै बलियो टिम हो,’ उनले भने ।
सुदूरपश्चिमले लिग चरणमा जनकपुरलाई सजिलै ७२ रनले हराएको थियो । त्यसमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाएको थियो । ओपनर विनोदले सर्वाधिक ३३ रन जोडेका थिए ।
यस्तै सैफले २१ रनको योगदान गरेका थिए । तर यही स्कोर पनि जनकपुरका लागि चुनौतीपूर्ण साबित बन्यो । जनकपुर ५१ रनमात्र बनाई अलआउट हुनपुग्यो । जोसुआ ट्रोम्पको १३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । उनी नै दोहोरो अंक छुने एकमात्र ब्याटर रहे । ‘हामी लिग चरण र क्वालिफायरमा जनकपुरविरुद्ध जुन मनसाय लिएर मैदानमा उत्रिएका थियौं, त्यही मनोभावना लिएर फाइनलमा पनि खेल्नेछौं । फाइनलको दबाब नलिएर आफ्नो शतप्रतिशत दिनेछौं,’ दीपेन्द्रले भनेका छन् ।
जनकपुरका नियमित कप्तान अनिल घाइते भएपछि कप्तानी सम्हालेका आसिफले पनि फाइनलमा विगत बिर्सेर उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनको भनाइ थियो, ‘बदला लिने भावना छैन । हामी आफ्नै राम्रो क्रिकेट खेल्न चाहन्छौं । सुदूरपश्चिमविरुद्ध दुई खेलमा हार बेहोरेको भए पनि आत्तिएका छैनौं । ती पछिल्ला दुई खेलमा हाम्रो ब्याटिङ चल्न सकेको थिएन । हामीसँग अनुभवी र युवा ब्याटर दुवै छन् । फाइनलमा ब्याटिङमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने सोचेका छौं ।’
फाइनलमा त्रिवि मैदानको पिचले कस्तो व्यवहार गर्नेछ, त्यसमा नतिजा धेरै हदसम्म निर्भर हुनेछ । त्यसैले पनि टस कसले जित्ने हो, फाइनलमा त्यसको निर्णायक प्रभाव हुन सक्नेछ ।
अहिलेसम्म पिच ब्याटरका लागि कठिन साबित भएको छ । यसमा बल सजिलै ब्याटसम्म पुग्ने गरेको छैन । धेरै ब्याटरले पिच सहज नभएको बताउँदै आएका छन् । उनीहरूले रनका लागि संघर्ष गर्नुपरेको छ । यस्तोमा बलरहरू फाइनलमै पनि ब्याटरमाथि हाबी हुन सक्नेछन् ।
