पाँचथर — आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरको फिदिममा आयोजित फाल्गुनन्द गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४ का बिरुद्ध ५ गोलले हराउँदै आयोजक एघारौं फाल्गुनन्द गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।
टाइब्रेकरमा फिदिम स्पोर्टिङका तर्फबाट आशिष चापागाई, विशाल दर्जी, राम वाजी, सुकराज राई र निरोज लिङ्देनले गोल गरे भने करसाङका तर्फबाट आकाश प्रधान, विशाल भण्डारी, प्रशान्त क्षेत्री र रुष्टम प्रधानले गोल गरे । करसाङका छोङ्ले लामाको प्रहार फिदिमका गोलरक्षक मिराक खजुमले रोकेसँगै उक्त टिम पहिलो उद्घाट खेलबाटै बाहिरिएको हो ।
शनिबारको उद्घाटन खेलमा फिदिम स्पोर्टिङ क्लबका गोल रक्षक मिराक खजुम उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
आइतबार मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा–११ झापाबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्ल्वका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरेको प्रतियोगिताको फाइनल पुस १५ मा सम्पन्न हुने कार्यक्रम छ ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता छ । जिल्लामा सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरु भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो ।
दसौं संस्करणसँगै खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो । उक्त प्रतियोगिता यस वर्षदेखि पुनः सञ्चालन गरिएको हो ।
