एनआरटीका अञ्जनको ह्याट्रिक

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Anjan's hat trick of NRT

झापा — कप्तान अञ्जन विष्टको ह्याट्रिक मदतमा एनआरटीले बिर्तामोडमा भइरहेको झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

एनआरटीले काठमाडौ लिग विजेता चित्लाङ एफसीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

एनआरटीको जितले प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँग दोस्रो सेमिफाइनलमा खेल्नेछ । त्यसअघि शुक्रबार सिरहाको सलहेश एफसी र चर्च ब्वाइज युनाइटेडबीच पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

बिहीबार खेलको १३ औं मिनेटमा कप्तान अञ्जनले विदेशी खेलाडी नेमारको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३६ औं मिनेटमा चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि एनआरटीले पेनाल्टी पायो । त्यसमा उनै अञ्जनले गोल गरेर खेल २–० को अवस्थामा पुर्‍याए । पहिलो हाफको अन्त्यतिर ४२ औं मिनेटमा चित्लाङबाट फाजिलको हेडर पासमा उत्कृष्ट भली प्रहार गर्दै जनक कोइरालाले गोल फर्काएका थिए । दोस्रो हाफमा एनआरटीले आक्रमणको लय कायमै राख्यो । ६५ औं मिनेटमा अञ्जनको पासमा नेमारले एकल प्रयासमार्फत टिमका लागि तेस्रो गोल गरे । त्यसपछि ६८ औं मिनेटमा नेमारकै पासमा शिशिर लेखीले गोल थप्दै एनआरटीलाई ४–१ को अग्रता दिलााए ।

खेलको ८८ औं मिनेटमा गौरव श्रेष्ठले पुनः अञ्जनलाई फाउल गरेपछि एनआरटीले दोस्रो पेनाल्टी प्राप्त गर्‍यो । त्यसमै अञ्जनले गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । खेलभर एनआरटीले विपक्षी पोस्टमा दर्जनौं आक्रमण गरेको थियो । २१ औं मिनेटमा अञ्जनले २५ यार्डबाट हानेको फ्रिकिक चित्लाङका गोलरक्षकले पञ्च गरेर बचाए । २९ औं मिनेटमा अञ्जनको अर्को प्रहार पोलमा लागेर फर्कियो ।

एनआरटीले यसअघि झापा गोल्डकप फाइनलमा चर्च ब्वाइजसँग पराजय बेहोरेको थियो । तर, हालै सम्पन्न इलाम गोल्डकपमा एनआरटी च्याम्पियन बनेको थियो । खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कान्तिपुर

Link copied successfully