पाँचथर — जिल्ला समन्वय समिति पाँचथर परिसरमा निर्मित ब्याडमिन्टन हल उद्घाटन कार्यक्रम तय गरिएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए प्रतिनिधिसभा सांसद वसन्तकुमार नेम्बाङ ।
२०८० माघ १८ गते ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रममा सहभागी हुन गएका बेला अचानक मष्तिस्कघात भएर उपचारका क्रममा रहेका नेम्बाङ १० महिनापछि मंगलबार औपचारिक कार्यक्रममा उपस्थित हुँदै थिए । त्यही भएर कार्यक्रमस्थलमा उपस्थित जिल्लावासी हर्षित देखिन्थे ।
बिहान १० बजे नेम्बाङ चढेको गाडी कार्यक्रमस्थल आइपुग्यो । गाडीबाट ओरालेर नेम्बाङलाई सोफामा लगेर राखियो । औपचारिक कार्यक्रम सुरु भयो । हलको भित्तामा राखिएको शिलालेखको पर्दा खोल्दै भवन उद्घाटन गरियो ।
ढोकामा टाँगिएको रिबन नेम्बाङले श्रीमतीको सहयोग लिएर काटे । लट्ठीको सहारामा हलभित्र प्रवेश गरे । कोर्ट हेरे विस्तारै बाहिर ल्याएर अतिथिकै कुर्सीमा राखियो । त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर उपाधि जितेका खेलाडी पविन्द्र योक्पाङदेनलाई नेम्बाङकै हातबाट कदरपत्र दिलाइयो ।
अबको पालो प्रमुख अतिथि बोल्ने थियो । नेम्बाङ बोल्न नसक्ने अवस्थामा रहेकाले पत्नी भूमिका सुब्बालाई मन्तव्यका लागि बोलाइयो । भूमिका स्टेजमा पुगेर वसन्तको ब्याडमिन्टन खेलप्रतिको लगावसँगै खेलकुद विकासका लागि निर्वाह गरेको भूमिकाबारे बोल्ने थालिन् । पत्नीलाई हेरिरहेका नेम्बाङको आँखाबाट अश्रुधारा बग्न थाल्यो । उनी एकाएक भावुक भए ।
स्वकीय सचिव गणेश योङहाङ र फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईले सम्हाल्न खोजे तर सम्हालिन गाह्रो भयो । दुई तीनपल्ट प्रयास गर्दा एक घुट्की चिया पिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने एकमात्रै प्रतिनिधिसभा सांसद नेम्बाङलाई यो अवस्थामा देख्दा उपस्थित सबैका आँखा रसाए । कोही भक्कानिए, कोही आँसु पुछ्न थाले । कार्यक्रमस्थलमा एकाएक सन्नाटा छायो ।
मष्तिस्कघातको उपचार गराइरहेका नेम्बाङको बोली २०८० माघ १८ यता बन्द भएको छ । यद्यपि उनी कान राम्ररी सुन्छन् । मान्छे चिन्छन् । आफूलाई केही भन्न मन लाग्दा इसारा गर्छन् । नेम्बाङ काठमाडौं र भारतका विभिन्न अस्पतालमा उपचारपछि दुई साताअघि गृहजिल्ला पाँचथर आइपुगेका हुन् ।
उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेको समयमा २०७६ साल असार ३ देखि जिल्ला समन्वय समिति पाँचथरको स्वामित्वमा रहेको ब्याडमिन्टन कभर्डहलको पुनर्निर्माण थालिएको थियो । गत वैशाख १५ गते निर्माण कार्य सकिए पनि उद्घाटन भने भएको थिएन ।
कभर्डहलको पुनर्निर्माणको अगुवाइ गरेका नेम्बाङबाटै उद्घाटन गर्न १८ महिनासम्म थाँती राखिएको ब्याडमिन्टन संघका सचिव मंगल बेघाले बताए । ब्याडमिन्टन खेलाडीसमेत रहेका नेम्बाङ पाँचथरमा यो खेललाई प्रवेश गराएर संस्थागत गर्ने अनि युवापुस्तालाई खेल्न प्रेरित गर्ने पहिलो व्यक्ति हुन् ।
नेम्बाङ मन्त्री बनेपछि उनकै पहलमा संघीय सरकारले हल पुनर्निर्माणका लागि १ करोड २८ लाख ९१ हजार बजेट व्यवस्था गरेको थियो । नेम्वाङले गरेको परिकल्पनाअनुसार बनाइएको नयाँ हलमा ब्याडमिन्टन खेलाउन नपाउँदा दुःख लागेको ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोको प्रतिक्रिया थियो ।
