हिमरश्मिको जितमा भलिबल सुरु

पुस २, २०८१

कान्तिपुर संवाददाता

Volleyball starts with Himarshmi's victory

काठमाडौँ — आयोजक हिमरश्मि नीलोले प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

तार्केश्वर नगरपालिका–९ स्थित घरेलु कोर्टमा हिमरश्मिले गणेश कलेजलाई २५–१२, २५–२१ को सोझो सेटमा हरायो । हिमरश्मि रातोले पनि दुई खेल खेलेकामा दुवैमा हार बेहोर्‍यो । ओरियन्टसँग २५–२१, १८–२५, १५–११ र एनआर कलेजसँग २५–२०, २०–२५, १५–६ ले पराजित भयो ।

अन्य खेलमा गीताञ्जलीले कालीदेवी माविलाई २८–२६, २५–१४, ग्रामीण मल्टिपल क्याम्पसले ग्रामसेवालाई २५–२१, २५–१९ ले, जय मल्टिपल क्याम्पसले पासाङ ल्हामुलाई २५–११, २५–१७ ले, लालीगुराँसले प्रारम्भलाई २१–२५, २५–२१, १५–९ र न्युटनले चाणक्यलाई २५–१६, २५–१२ ले हराए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले उद्घाटन गरे । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार पुरस्कार प्राप्त गर्ने हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । लिगकम नकआउटमा हुने स्पर्धामा २१ टिम प्रतिस्पर्धी छन् ।

कान्तिपुर

Link copied successfully