सलहेशसँग त्रिभुवन आर्मी स्तब्ध

पुस २, २०८१

कान्तिपुर संवाददाता

Tribhuvan Army shocked with Salhesh

दमक — उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडमा भइरहेको प्रथम झापा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सोमबार सिरहाको सलहेश युवा क्लबसँग २–० ले पराजित हुँदै आर्मी बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनल सुरक्षित गरेको छ ।

सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरेका थिए । खेलको १८ औं मिनेटमा अभिले गोल गरी सलहेशलाई अग्रता दिलाए । उनले मैदानको मध्यभागबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले पोस्टभित्र छिरेको थियो । आर्मीका दुई डिफेन्डरले क्लियर गर्न नसकेको बलमा आदित्यले गोलकिपर कुथुलाई बिट गर्दै दर्शनीय गोल गरेका थिए ।

खेलको ३७ औं मिनेटमा सलहेशका जोराह ग्लोरीले बक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट वञ्चित भयो ।

आर्मीले बल पोजिसन राखे पनि गोल गर्न सकेन । खेलको २० औं मिनेटमा आर्मीका निरज भुजेलले विपक्षी बक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार सलहेशका गोलकिपर दीप कार्कीले सहजै नियन्त्रणमा लिए ।

५५ औं मिनेटममा आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मी समर्थक निराश भए । रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड पनि दिए । खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

मंगलबार दोस्रो क्वाटरफाइनलमा भारतको जीटीए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ । खेललाई रोमाञ्चक बनाउँदै प्रोत्साहन गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एक भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully