भैरहवा — ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यू होराइजन मावि बुटवलले हात पारेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजन विजेता बनेको हो । खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यू होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पूरा गर्यो । जसमा, समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे ।
बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुवर र आयुष विकले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यू होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम काडेल र प्रिन्स पालले १–१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रनको योगदान दिएका थिए । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल घोषित भए ।
प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम काडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
