तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा यही पुस १० गतेदेखि मेयर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना तथा नगरपालिकाको सहयोगमा नवजीवन युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिता १७ गतेसम्म चल्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा नगरका १७ मध्ये १६ वटा वडाका खेलाडीले भाग लिनेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च अनुमान रहेको समितिका अध्यक्ष अर्जुन पराजुलीले बताए ।
उनले क्रिकेट खेलमा रुचि भएका युवालाई प्रोत्साहन गर्न प्रतियोगिता सहयोगी हुने बताए । नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले हरेक वडाबाट खेलाडी उत्पादन गर्न सकियोस् भनेर वडागत सहभागिता अनिवार्य गराइएको बताए ।
उनले ग्रासरुट बलियो भए खेलाडी उत्पादनमा समस्या नहुने जनाए । 'यसका लागि नगर खेलकुद विकास समिति लागिपर्छ,' उनले भने, 'खेल खेल्ने खेलाडीमा उत्साह र मिहिनेत झल्कियोस् थप काम गर्न तयार छौं ।' उनले विस्तारै हरेक वडामा एक खेल मैदान बनाउने गरी काम गरिने बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरी विधागत रुपमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर र हरेक खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने उनले बताए । त्यस्तै, अतिरिक्त खेलमा जनप्रतिनिधि, पत्रकार, आयोजकका बीचमा खेल खेलाइने उनले बताए ।
नवजीवन खेल मैदानमा संचालन हुने प्रतियोगिताको पहिलो खेलमा वडा नं २ र ३ भिड्नेछन् ।
