झापा कप फुटबल : राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा 

पुस २, २०८१

कान्तिपुर संवाददाता

Jhapa Cup Football: National Awakening Club in the semi-finals

झापा — झापा-११ को आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी झापा कप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा पाहुना टोली जीटीए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृतिले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले टाइब्रेकरमा गोल गरे ।  निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।

दार्जिलिङका आशिष देवान र प्रितम राईले मात्र गोल गर्न सके । अंगद थापा मगर र भाइचुङ राईको प्रहार जागृतिका गोलकिपर निरज चौधरीले निस्तेज पारे । खेलको १७ औं मिनेटमा जागृतिका प्रवेश बस्नेतले टिमका लागि पहिलो गोल गर्दै अग्रता दिलाए । 

खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै बस्नेतले पोस्ट चुमाएका थिए । खेलको २२ औं मिनेटमा दार्जिलिङले खेल बराबरी गर्‍यो ।  देवाशिष राईले मध्यभागबाट दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलकिपरबाट रिबाउन्स भयो । उक्त बललाई पुनः प्रहार गर्दै गोलमा परिणत गरे । 

खेलको ६८औं मिनेटमा जागृतिका स्ट्राइकर मिलन राईले विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेड कार्ड पाएर मैदान बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परे पनि गोलरक्षक निरज चौधरीको उत्कृष्ट प्रदर्शनले टिमलाई सेमिफाइनलमा पुर्‍याउन सफल भयो । 

खेलको प्लेयर अफ द म्याच गोलरक्षक चौधरी नै भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्ट्स क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully