काठमाडौँ — डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले सोमबार इटालीको सिरी ए मा लाजियोमाथि ६–० को प्रभावशाली जित निकालेको छ । रोमको क्लबले आफ्नो घरेलु मैदानमा बेहोरेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको लिग हार हो ।
खेल सुरु हुन अगाडि दुवै समान अंकमा थिए । तर एकपल्ट खेल सुरु भएपछि इन्टरको आक्रामक अगाडि लाजियो टिक्न सकेन् । इन्टरको अब १५ खेलबाट ३४ अंक भएको छ । लाजियो भने ३१ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो ।
सिमोन इन्जाघीको इन्टरका लागि हाकन चाहालनुनुले ४१ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे र त्यसपछि गोलको वर्षा सुरु भएको थियो । अन्य गोल गर्नेमा फेडरिको डिमार्को, निकोलो बरेला, डेन्जेल डुमफ्राइज, कार्लोस एगुस्टो र माकर्स थुराम रहे ।
यस नतिजासँगै घरेलु मैदानमा लाजियोको १२ खेलको अपराजित यात्रा पनि टुंगेको छ । लाजियो यसअघि सन् १९५९ मा घरमा भएको खेलमा फियोरेन्टिनाविरुद्ध ५–० ले पराजित रहेको थियो ।
इंग्ल्यान्डइंग्लिस प्रिमियर लिगमा बर्नमाउथ र वेस्ट ह्यामबीचको सोमबारको खेल १–१ को बराबरीमा टुंगेको छ । वेस्ट ह्यामले ८७ औं मिनेटमा लुकास पाक्वेटाले पेनाल्टीबाट गरेको गोलको मद्दतले अग्रता लिएको थियो । बर्नमाउथले ९० औं मिनेटमा बराबरी गोल फर्कायो र यो इनेस उनालको नाममा रह्यो ।
