पाकिस्तानमाथि ऐतिहासिक जित

नेपाल महिला यू–१९ एसिया कपको सेमिफाइनलमा

पुस २, २०८१

विनोद पाण्डे

Historic win over Pakistan

काठमाडौँ — कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी महिला यू–१९ एसिया कप क्रिकेटमा सोमबार पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित हासिल गरेको छ । महिला क्रिकेटको कुनै पनि समूहमा नेपालले टेस्ट राष्ट्रको टोलीलाई हराएको यो पहिलो पटक हो ।

मलेसियामा भइरहेको प्रतियोगितामा सोमबार टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १०४ रन बनाएको थियो । पूजाले अविजित ४७ रन बनाएपछि क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपालले १ ओभरअघि नै लक्ष्य पूरा गरेको हो ।

महिला यू–१९ एसिया कपमा पहिलो पटक खेलेको नेपालले सुरुआती खेलमै ठूलो सफलता हात पारेको हो । अघिल्लो महिना यूएईमा आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट जितेसँगै नेपाल एसीसी यू–१९ एसिया कप र आईसीसी यू–१९ विश्वकपका लागि छनोट भएको थियो ।

पाकिस्तानमाथिको जितपछि यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा पुगेका छन् । पाकिस्तान र नेपालसहित भारत समूह ‘ए’ मा रहेको छ । पाकिस्तान अघिल्लो दिन भारतसँग ९ विकेटले पराजित भएको अवस्थामा नेपालले निर्णायक मानिएको खेलमा बाजी मार्दै सोझै सेमिफाइनल तय गरेको हो । नेपालले मंगलबार भारत यू–१९ सँग खेल्नेछ । यो खेल जित्ने टोली समूह विजेता हुनेछ ।

पहिलो पटक आईसीसी यू–१९ विश्वकप खेल्नुअघि नेपालले एसिया कपमा प्राप्त अवसरमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । नेपाल मलेसियामै हुने यू–१९ विश्वकपमा समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँगै परेको छ । नेपालले जनवरी १८ मा बंगलादेश, २० मा स्कटल्यान्ड र २२ मा अस्ट्रेलियासँग खेल्ने छ । नेपालकी कप्तान पूजा ३३ बलमा ३० रन बनाई खेलिरहेको अवस्थामा पाकिस्तानी फिल्डरले क्याच छाड्न पुगेका थिए । त्यसको भरपूर फाइदा उठाउँदै पूजाले अर्को १४ बलमा अविजित १७ रन बनाइन् । उनले ४७ बल खेल्दै ४७ रन बनाउनेक्रममा ३ चौका प्रहार गरिन् । विजयी रन प्रहार गरेसँगै पूजाले मैदानमा घोप्टिएर विकेट चुमेकी थिइन् । 

सना प्रविन १५ बलमा १ चौका प्रहार गरी १०, सावित्री धामी ८, सोनी पाख्रिन २० बलमा १ चौका प्रहार गरी १३ रन र ज्योत्स्नीका मरासिनी शून्यमा आउट भए । 

पाकिस्तानबाट फतिमा खान र क्युरातुलाइन असेनले १–१ विकेट लिएका थिए । पूजाले यसअघि आफ्नो बलिङबाट पाकिस्तानलाई खुल्न दिइनन् । उनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रचना चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए । पाकिस्तानबाट ओपनर कोमल खानले ३८ रन बनाएकी थिइन् । उनले ४३ बल खेल्दै २ चौका प्रहार गरिन् । महम अनिशले ३८ बलमा २ चौकासहित अविजित २९, राभाइल फरहानले १५ बलमा १३ र कप्तान जुफिसन अयाजले अविजित १२ रन बनाएका थिए ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully