काठमाडौँ — हिमरश्मिको आयोजनामा प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिता मंगलबार सुरु हुँदै छ ।
प्रतियोगितामा २१ टिमको सहभागिता रहने हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले सोमबार जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रिन्सिपल खड्काले राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई कदर गर्नुका साथै विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नु हिमरश्मिको मुख्य उद्देश्य भएको बताए ।
शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिता गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
हिमरश्मिका अध्यक्ष तीर्थबहादुर गुरुङ, भाइस प्रिन्सिपल नारायण सेढाईं, रेफ्री सह–संयोजक कपिल जिसी र इसीए इन्चार्ज एमपी अम्गाईंले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । खेल तार्केश्वर नगरपालिका–९ स्थित आयोजकको कोर्टमा हुनेछ ।
