वडाध्यक्ष कपमा फ्रिडमका दुवै टोली विजयी

पुस १, २०८१

कान्तिपुर संवाददाता

Both Freedom's teams won the Mayor's Cup

काठमाडौँ — फ्रिडम फाइटर क्लबले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार दोहोरो जित पाएको छ । फ्रिडमको ‘ए’ र ‘बी’ दुवै टोली विजयी भएका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमको ‘ए’ ले वाइवाइ युनाइटेडलाई १०–१ ले पराजित गर्‍यो । विजेताका लागि राजकुमार घिसिङले ४, म्यान अफ द म्याच सुरज श्रेष्ठ र विजय गुरुङले २–२ तथा विकर्ण श्रेष्ठले १ गोल गरे । एक गोल आत्मघाती रह्यो । युनाइटेडका सुन्दर लिम्बूले एक गोल गरे ।

फ्रिडम ‘बी’ ले सरस्वतीनगरलाई ३–० गोलले हरायो । विजेताका निलेन्द्र देवान, म्यान अफ द म्याच राजु तामाङ र टीकाजित लिम्बूले १–१ गोल गरे ।

कपन भेट्रान र बौद्ध भेट्रान पनि विजयी भए । कपनले बूढानीलकण्ठलाई २–० ले हरायो । दुवै गोल म्यान अफ द म्याच पासाङ शेर्पाले गरे । बौद्धले डिल्लीबजारलाई २–१ ले हरायो । बौद्धका म्यान अफ द म्याच अमिर लामा र प्रकाश श्रेष्ठले १–१ गोल गरे । डिल्लीबजारका बाबु बरालले १ गोल फर्काए ।

प्रतियोगिताको आयोजक वडाका अध्यक्ष विमलकुमार होडा र सोही वडाका पूर्वअध्यक्ष सानुकाजी शाक्यले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा मोफसलका ३ सहित २१ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

कान्तिपुर

Link copied successfully