काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) धेरै तरिकाले अहिले चर्चा छ । दर्शकको उत्साह त कुरै नगरौं, विदेशी खेलाडीहरुको आगमनले पनि एनपीएलको आकर्षण झनै बढाइदिएको छ । हरेक खेलमा दर्शकको उत्साहमात्रै बढेको छैन्, अब के हुन्छ भन्ने कौतुहल पनि बढाइदिएको छ ।
एनपीएलकै लागि भनेर ब्रायन लारा अहिले काठमाडौंमा छन् । वेस्ट इन्डिजका लारालाई विश्व क्रिकेटले पाएका अहिलेसम्मकै सबैभन्दा महान् खेलाडीमध्ये एक मानिन्छ । ट्रिनिडाड एन्ड टोबागोका लाराले खेलाडी छँदा आफ्नो ब्याटिङको मद्दतले तहल्का मच्चाएका थिए ।
नेपाल आइसकेको क्रिकेट ठूला ठूला हस्तीमा लारामात्र एक्लो भने होइनन् । यसअघि भारतका लागि सन् १९८३ मा विश्वकप जितेका कपिल देव र सुनिल गावस्कर पनि नेपाल आइसके । यस्तै लाराकै समकालीन खेलाडी रहेका सचिन तेन्दुलकर पनि नेपाल आइसके । नेपाली क्रिकेट माहोल यस्तै फैलिने क्रममा रहने हो भने यस्ता ठूला स्टारहरू नेपाल आउने क्रम बढ्नेछ ।
एनपीएलको पहिलो संस्करण हिजै सुरु भएको जस्तो हुन सक्छ, तर यो अन्तिम चरणतिर छ भन्दा हुन्छ । अबको अर्को शनिबार फाइनल हुनेछ । यस्तोमा प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेल हेर्न पाइने निश्चित छ । सुरुमा प्ले–अफमा को-को पुग्ने हो भने चर्को प्रतिस्पर्धा हुनेछ । त्यसपछि क्वालिफायर र इलिमिनेटर हुँदै फाइनल हुनेछन् ।
प्रतियोगिता सुरु हुन अगाडि एक खाले अनुमान थियो, अझ भनौं डर पनि, कतै एनपीएलमा विदेशी खेलाडीको वर्चस्व रहने त होइन् । विदेशी खेलाडी नेपाली खेलाडीमाथि हाबी हुने त होइन् तर यस्तो भएन । नेपाली खेलाडीकै प्रदर्शन राम्रो रहेको छ, अहिलेसम्म । बलिङ, ब्याटिङ, फिल्डिङ हरेक क्षेत्रमा नेपाली खेलाडी नै अगाडि देखिएका छन् ।
त्यसैले चितवन राइनोजबाट खेलिरहेका इंगल्यान्डका रवि बोपाराले ठीकै भनेका छन्, '…नेपाली खेलाडी बहुप्रतिभाशाली छन् । उनीहरूलाई एनपीएलबाट धेरै सिक्ने अवसर छ । मात्र धैर्य हुनुपर्छ । विकेटमा टिकेर खेल्न सक्नु पर्छ ।’ हो पनि । नेपाली खेलाडीका लागि यो प्रतियोगिता सिक्ने सिकाउने ठूलै अवसर बनेको छ ।
भारतका लागि आईसीसी च्याम्पियन्स ट्रफी, एसीसी एसिया कपसँगै आइपीएलको उपाधि जितेका शिखर धवन नेपाल आएर खेले । उनी फर्किसकेका पनि छन् । भारतका कुनै पनि यत्तिको स्टार खेलाडी नेपाल आएर लिग खेलेको यो नै पहिलोपल्ट हो । कर्णाली याक्सबाट चार खेल खेले र उनले एक अर्धशतकसहित १ सय ३६ रन बनाएका थिए ।
अनेकन संयोगहरु अनि हरेक दिन मैदानबाट आएका खबरहरुले एनपीएलले नेपाली क्रिकेटको मात्रै भविष्य देखाइरहेको छैन्, नेपाली दर्शक क्रिकेटमा कतिसम्म क्रेजी छन् भन्ने पनि प्रस्ट देखाइरहेको छ ।
