काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार काठमान्डु गुर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमान्डु गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्ता दिएका हुन् ।
काठमान्डुले प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राख्न यस खेल जित्नै पर्छ । काठमान्डु ६ खेलमा ६ अंकसहित पाँचौं स्थानमा छ । एनपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान रहेको छ । काठमान्डुले प्लेअफमा पुग्न विराटनगरलाई ठुलो अन्तरमा पराजित गर्नुका साथै कर्णाली याक्स सोमबार हुने खेलमा सुदुरपश्चिम रोयल्ससँग पराजित हुनु पर्नेछ ।
६ खेलमा ४ अंकमात्र रहेको विराटनगर यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । टोलीले काठमान्डुसँगको खेलमा आफ्नो दुई प्रमुख खेलाडी मार्टिन गप्टिल र प्रतिस जिसीको स्थानमा इस्मातुल्लाह आलम, अनिल खरेललाई खेलाएको छ ।
काठमान्डुले राजु रिजालको स्थानमा शंकर राना र नथान साउटरको स्थानमा ड्यान डाउथवेटलाई खेलाएको छ ।
