करण म्याराथन च्याम्पियन

मंसिर ३०, २०८१

हरिराम उप्रेती

Karan Marathon Champion

गोरखा — त्रिभुवन आर्मी क्लवका करण रावलले प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्मको खुला गोरखा म्याराथनको उपाधि जितेका छन् ।

निर्धारित दुरी २ घण्टा ३६ मिनेर ७ सेकेन्डमा पार गर्दै बझाङका करणले पहिलो स्थान हात पारे । मनकामना–गोरखकाली रुट म्याराथन दौडलाई उपयुक्त रहेको विजेता करणको अनुभव रह्यो ।

उनले भने, ‘यो एकदमै राम्रो रुट छ, अफरोड पनि छ,’ उनले भने, ‘मनकामनादेखि गोरखकाली मन्दिरसम्म पहिलो पटक भएको म्याराथन जित्न पाउँदा खुसी लागेको छ ।’ करणले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । 

त्रिभुवन आर्मी क्लबकै होमलाल श्रेष्ठ २ घण्टा ४० मिनेट ४४ सेकेन्डबाट दोस्रो भए । २ घण्टा ४४ मिनेट ६ सेकेन्डबाट आर्मीकी गजेन्द्र राईले तेस्रो स्थान ओगटेका थिए । दोस्राले १ लाख र तेस्रो हुने धावकले ७५ हजार रुपैयाँ पुरस्कार पाए ।

गोविन्द कार्की, गोपाल तामाङ, सुवास कार्की, तिलक सुनुवार, राजन म्योयुङ्गा, कुलबहादुर बस्नेत र प्रताप थाम्सोहाङ क्रमशः चौथोदेखि १० औं स्थानमा विजयी भए । उनीहरू सबै आर्मीका हुन् । चौथोले ६० हजार, पाँचौंले ५० हजार, छैटौंले ४० हजार, सातौंले ३५ हजार, आठौंले २५ हजार, नवौंले २० हजार र १० औं हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए । 

धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रचार गर्ने उद्देश्यसहित म्याारथन दौड आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेतले बताए । मनकामनाबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भंगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगेगाडे, अस्पतालचोक, हरमटारीचोक, वसपार्क, कालो वर चौतारा, तीनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, विपी चौतारा, ठुलो आँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका (गोरखकाली मन्दिर) हुँदै हनुमानथानमा पुगेर टुंगिएको थियो ।

म्याराथन दुरी ४२.१९५ किमि नै तय गरिएको थियो । प्रतियोगितामा १ सय ५ धावकले प्रतिस्पर्धा गरेको अध्यक्ष बस्नेतले जानकारी गराए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully