काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौमा आइतबारबाट औपचारिक रुपमा प्रशिक्षण सुरु गरेकी छन् ।
एञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/२५ को लागि अनुबन्ध गरेको हो । उनले जनवरीदेखि मात्रै लिग खेल्न पाउने छिन् ।
गत साता ग्रिस पुगेकी एञ्जिला पहिलो पटक एसिया बाहिरको लिग खेल्दैछिन् । यसअघि उनले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।
