एन्फाले एकेडेमी संचालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने छ : एन्फा महासचिव राई 

मंसिर ३०, २०८१

शंकर आचार्य

ANFA will encourage the private sector to run the academy: ANFA General Secretary Rai

पर्सा — अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले एन्फाले भविष्यमा आफैले एकेडेमी संचालन नगरी क्लबहरुमार्फत कम्पनी मोडेलमा एकेडेमी संचालन गर्ने बताएका छन् ।

भेट्रान्स सिटी क्लब वीरगन्जको वार्षिक साधारणसभा समारोहलाई शनिबार साँझ वीरगन्जमा सम्बोधन गर्दै महासचिव राईले उक्त धारणा राखेका हुन् । ‘एन्फाले अब एकेडेमी संचालन गर्दैन,' उनले भने, ‘अब निजी क्षेत्रलाई पनि एकेडेमी संचालनमा प्रोत्साहित गरिने छ, कम्पनी मोडेलमा एकेडेमी संचालन गरिने छ ।’ 

हालसम्म फुटबल भावनात्मक लगानीमा चलिरहेकोमा अब व्यावसायिक ढंगले अघि बढ्ने उनले बताए । हाल देशभरि ५ सयदेखि ६ सय साना फुटबल क्लब रहेको भन्दै महासचिव राईले ए डिभिजन क्लबलाई पनि कम्पनी ऐनअन्तर्गत दर्ता गरी संचालन गर्ने योजना रहेको बताए । भविष्यमा सी डिभिजन क्लबका खेलाडीले पनि आम्दानी गर्न सक्ने वातावरणको विकास हुने पनि उनले बताए । 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगन्जमा फुटबलको विकासका लागि भेट्रान्स क्लबसँग सहकार्य गर्न वीरगन्ज महानगरपालिकाको कार्यालय सँघै तत्पर रहेको पनि बताए । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले आफ्नो पालिकका स्तरीय रंगशाला निर्माणमा तथा पर्सेली फुटबल क्षेत्रको विकासका लागि सक्दो लगानी गर्ने प्रतिबद्धता जनाए । 

क्लबका महासचिव पंकज श्रेष्ठले प्रगति विवरण प्रस्तुत गर्दै क्लबले २०७५ सालमा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता-२०७९ सालमा वीरगन्जका प्रथम मेयर केशरप्रसाद मानन्धरको स्मृतिमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजनाकालगायत विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully