ललितपुर — जेम्स स्कुलको आयोजनामा शनिबारदेखि थन्डर बोल्ट्स कप २०२४ खेलकुद प्रतियोगिता सुरु भएको छ ।
१२ वटा खेल समावेश बृहत खेलकुदमा उपत्यकाभित्र र बाहिरका गरी १ सय ४० विद्यालयका ४ हजारभन्दा वढी खेलाडीको सहभागिता रहेको छ ।
बास्केटबल, फुटबल, भलिबल, क्रिकेट, टेनिस, टेबलटेनिस, आर्चरी, तेक्वान्दो, जुडो, चेस, फुटसल र पौडीमा प्रतिस्पर्धा गराइने छ । ‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नारासहित जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले प्रतियोगिता आयोजना गरेको हो ।
पुस ९ सम्म चल्ने प्रतियोगितामा विभिन्न खेल र बहुविधामा विजेता भई सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यालय थन्डर बोल्ट्स कपको विजेता हुनेछ । विजेताले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछ भने लगातार तीन वर्षको च्याम्पियन विद्यालयले ट्रफी कब्जा गर्नेछ ।
नेपालका विद्यालयबीच बलियो खेल संस्कृतिको विकास गर्नु प्रतियोगिता आयोजनाको उद्देश्य रहेको आयोजक संयोजक अनित पाण्डेले बताए ।
जेम्स स्कुलको खेल मैदानमा भएको प्रतियोगितालाई थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरले प्रायोजन र फोटोनले समर्थन गरेका छन् ।
