सिरिजंगा गोल्डकप उदयपुरलाई

मंसिर २९, २०८१

आनन्द गौतम

Sirijanga Gold Cup to Udaipur

ताप्लेजुङ — सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा सञ्चालित सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । मरिक फुटबल क्लब सुनसरीलाई सडनडेथमा पराजित गर्दै ब्रदरहुड विजयी बनेको हो । 

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरपनि ५–५ को बराबरी भएपछि खेल सडनडेथमा पुगेको हो । मरिक फुटबल क्लबका पूर्ण चेम्जोङको प्रहारलाई ब्रदरहुडका गोलरक्षक सौरभ बरालले रोकेर टिमलाई विजयी बनाए ।  ब्रदरहुडले नगद २ लाख ५० हजारसहित सिरिजंगासिंह थेबेको प्रतिमा भएको ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता मरिक फुटबल क्लबले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।  

प्रतियोगिताको सुरुआती ब्रदरहुडले गरेको थियो । आकाश राईले गोलको खाता खोलेका थिए । निवष फुयालले जवाफी गोल फर्काए र मरिकलाई बराबरीमा पुर्‍याए । मरिकका लागि निश्चल लामाले हेडरमार्फत २–१ को अग्रता बनाए । ब्रदरहुडका आकाब राईले व्यक्तिगत दोस्रो गोल गर्दै प्रतियोगितालाई पुनःबराबरीमा पुर्‍याए । 

मंसिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एकसहित आठ टिमको सहभागिता थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully