पाचथर — न्यू रोड टिम (एनआरटी) ‘दोस्रो इलाम गोल्डकप’को उपाधि चुम्न सफल भएको छ । साविक विजेता एनआरटीले लिग विजेता चर्च ब्वाइज क्लबलाई ३–०को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो पटक इलाम गोल्डकपको च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजले खेल सुरु भएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै एनआरटीलाई दबाबमा राख्ने प्रयास गरे पनि गोल रक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्न सकेन ।
खेल सुरु भएको २४ औं मिनेटमा एनआरटीका तर्फबाट खेलिरहेका विदेशी खेलाडी नेयमारले पहिलो गोल गर्दै टिमको खाता खोले । यस्तै दोस्रो र तेस्रो गोल मध्यान्तरपछि क्रमशः ५१ र ६३ औं मिनेटमा कप्तान अञ्जान विष्टले गरे ।
खेल अवधिभर ३ गोल गरेका उनै अञ्जान विष्ट इलाम गोल्डकपको सर्वाधिक गोलकर्ता ‘हाइ स्कोरर’ र म्यान अफ दि टुर्नामेन्टको उपाधिसहित पुरस्कृत भए । यस्तै एनआरटीकै जीवनसिंह कमानलाई उत्कृष्ट प्रशिक्षक, चर्च ब्वाइजका भुवन कार्कीलाई उत्कृष्ट मिडफिल्डर, रेडहर्स इलामका अर्जुन गुरुङलाई उदीयमान खेलाडी, एनआरटीका विकास सुनारलाई उत्कृष्ट गोलरक्षक र एनआरटीकै आशीष गुरुङलाई उत्कृष्ट डिफेन्सको उपाधिसहित जनही ११ हजार ५ सय नगदसहित पुरस्कृत गरियो ।
खेलको प्रचारप्रसार र समाचार लेखनमा उत्कृष्ट ठहर गर्दै पत्रकार गणेश घिमिर रेडहर्स फुटबल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार राशि नगद ११ हजार ५ सय रुपैयाँको हो ।
आयोजकले इलामका सुदीप राईलाई उत्कृष्ट स्वयंसेवकका रुपमा पुरस्कृत गर्यो । इलामकै कामना खड्कालाई शनिबारको खेलमा फ्यान अफ दि म्याचको उपाधिसहित पुरस्कृत गरिएको थियो ।
मंसिर २१ गते सुरु भएको इलाम गोल्डकपको दोस्रो संस्करणमा भारतको एकसहित नेपालका प्रतिष्ठित ८ टिम सहभागी थिए । उपाधि जितेसॅगै एनआरटीले नगद १० लाख र ट्रफी तथा उपविजेताले चर्च ब्वाइजले पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
