आर्मीको जितबाट झापा कप फुटबल सुरु

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Jhapa Cup football starts with the victory of Army

बिर्तामोड — त्रिभुवन आर्मी फुटबल क्लबले बिर्तामोडमा सुरु प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले पराजित गर्दै गरेको हो । आर्मीबाट राष्ट्रिय टोलीका स्ट्राइकर रहेका जिलेस्पीजंग कार्की, दिशान्त राई र नीरज चौधरीले गोल गरेका थिए । खेलको २५औं मिनेटमा जिलेस्पीले मोरङका डिफेन्डर अगाडि बढेको मौकामा गोल गरे । मैदानको मध्यभागबाट एक्लै अघि बढाएको बललाई पोस्टको दिशा दिए ।

आर्मीबाट अर्को गोल खेलको ८२ औं मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्तले नीरज घिसिङको पासमा गोल गर्दै अग्रता बढाए । खेलको अन्तिम समयमा नीरजले गोल थप्दै आर्मीको जित सुनिश्चित गरे ।

मोरङका रक्षापंक्तिको कमजोरीमा फाइदा उठाउँदै नीरजले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले बचाउन सकेनन् । खेलको ४७ औं मिनेटमा अनमार्क दिपेश आलेमगरले अवसर सदुपयोग गर्न नसक्दा बराबरीबाट चुकेको थियो ।

प्लेयर अफ द म्याच दिशान्त राई भए । उनले १० हजार पुरस्कार पाए ।

आइतबार आयोजक झापा ११ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल पुस ८ मा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ एफसीका महासचिव गणेश पोखरेलले जानकारी गराए । नेपालका ९ र भारतका एक क्लबको सहभागिता छ । झापा कपको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

बिर्तामोडका फुटबल समर्थकको योजनामा यो वर्षदेखि झापा कप हुन थालेको हो । झापा गोल्डकप गर्दै आएको समूहले नै झापा कप आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully