गोरखा म्याराथन दौडको उपाधि आर्मीका रावललाई

मंसिर २९, २०८१

हरिराम उप्रेती

Gorkha Marathon title to Army's Rawal

गोरखा — प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्म खुला (गोरखा) म्याराथन दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका करन रावलले जितेका छन् । निर्धारित दूरी २ घण्टा ३६ मिनेर ७ सेकेण्डमा पार गर्दै बझाङ घर भएका रावलले उपाधि जितेका हुन् । पहिलो बनेका रावलले १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै २ घण्टा ४० मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै त्रिभुवलन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो, २ घण्टा ४४ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै गजेन्द्र राई तेस्रो बनेका छन् । द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७५ हजार नगद पुरस्कार पाएका छन् । 

प्रतियोगितामा गोविन्द कार्की चौथो, गोपाल तामाङ पाँचौ, सुवास कार्की छैटौं, तीलक सुनुवार सातौं, राजनम्योयुङ्गा आठौं, कुलबहादुर बस्नेत नवौं र प्रताप थाम्सोहाङ दसौं भएका छन् । उनीहरु सबै त्रिभुवन आर्मी क्लबका हुन् । 

Gorkha Marathon title to Army's Rawal

प्रतियोगितामा चौथो हुनेले ६० हजार, पाँचौ हुनेले ५० हजार, छैटौं हुनेले ४० हजार, सातौं हुनेले ३५ हजार, आठौं हुनेले २५ हजार, नवौं हुनेले २० हजार र १० औं हुनेले १५ हजार नगद पुरस्कार पाएका छन् । 

धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित दौड प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह (शान्त) बस्नेतले बताए ।

मनकामनादेखि सुरु भएको दौड ताक्लुङ, तीनमाने भन्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भंगार (लखन थापा स्मारक), बुंकोट, ढुंगगाडे, अस्पताल चोक, हरमटारीचोक, बसपार्क, कालोबर चौतारा, तीनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, बीपी चौतारा, ठूलो आँगन, सतिपीपल, गैह्रीकुवा, हनुमानढोका (गोरखकाली मन्दिर) हुँदै हनुमानथानमा पुगेर टुंगिएको थियो । मनकामनादेखि गोरखा दरबारसम्म ४२.१९५ किलोमिटर दुरीमा दौड भएको हो । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully