तानसेनलाई पालिकास्तरीय क्रिकेटको उपाधि

मंसिर २९, २०८१

माधव अर्याल

City level cricket title to Tansen

पाल्पा — पाल्पाका पालिकास्तरीय डाउनटाउन नकआउट क्रिकेट प्रतियोगिताको उपाधि शनिबार तानसेन नगरपालिकाको तानसेन क्रिकेट क्लबले जितेको छ । 

फाइनलमा रैनादेवी छहरालाई ४९ रनले पछि पार्दै तानसेनले पालिकास्तरीय क्रिकेटको उपाधि हासिल गरेको हो । तानसेन टुँडिखेलमा टस जितेर पहिला रैनादेवी छहरा गाउँपालिकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको तानसेनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । तानसेनका लागि विशाल दर्नालले ४०,  रुपेश बस्यालले ३५, श्रीधर बस्यालले १५ र तेजेन्द्र बीरजंग राणलो १२ रन जोडेका थिए । वलिङतर्फ रैनादेवी छहराका मदन नेपालीले ४, अमीत तिवारीले २ विकेट लिए । 

१ सय ४० रनको लक्ष्य लिएर मैदान उत्रेको रैनादेवी छहरा निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रनमै समेटियो । रैनादेवीका लागि लक्ष्मण सार्कीले अविजित २९, मिलन केसीले १६, भक्त कार्कीले अविजित ४ रन जोडे । बलिङतर्फ तानसेनका श्रीधर बस्यालले ३, सागर सिलवाल र शुभम् भुसालले समान २/२ विकेट लिए । विजयी तानसेनलाई ५० हजार र उपविजयी रैनादेवी छहरालाई २५ हजार नगद पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरिएको लियो क्लब अफ पाल्पा दोस्रोका अध्यक्ष विक्रम घिमिरेले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट बलर रैनादेवी छहराका अमित तिवारी, उत्कृष्ट ब्याट्सम्यान तथा म्यान अफ दि सिरिज तानसेनका विशाल दर्नाल र बेष्ट क्याच तानसेनकै विपिन भट्टराई भए ।

विजयी तथा उपविजेताहरुलाई लायन्स क्लब डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर पुरुषोत्तम भक्त प्रधानांग, जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र भट्टराई, क्लबका अध्यक्ष बिक्रम घिमिरे, खेल संयोजकहरु मेघराज बस्याल, श्रीधर कुँवर, सुजीतकुमार थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरे । 

पाल्पाका १० मध्ये ९ स्थानीय तहले प्रतियोगितामा भाग लिएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully