राइनोज समर्थकको झिसमिसेमै यात्रा

मंसिर २९, २०८१

रमेशकुमार पौडेल

A whirlwind journey for a Rhinos supporter

चितवन — नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार दिउँसो चितवन राइनोज र विराटनगर किंग्सविरुद्ध खेल्दै थियो । काठमाडौंमा टिमको हौसला बढाउन राइनोजका समर्थकहरू शुक्रबार बिहान झिसमिसेमै बस चढेर काठमाडौं लागेका थिए ।

राइनोज चितवन मेडिकल कलेज (सीएमसी) ले लगानी गरेको टिम हो । समर्थकलाई काडमाडौं ल्याउन लैजान सीएमसीले मात्रै पाँचवटा बस व्यवस्था गरेको थियो ।

सौगात पौडेल भरतपुर महानगरपालिका–२२ पटिहानीका हुन् । भरतपुरदेखि २० किमि टाढा रहेको पहिटानीका उनी शुक्रबार बिहान ५ नबज्दै सीएमसी प्राङ्गणमा भेटिए । उनी बिहीबार साँझ नै नारायणगढ आएर बसेका थिए । टिकट किनेका समर्थकलाई सीएमसीले बसमा निःशुल्क आतेजातेको व्यवस्था गरेको हो । बसहरू बिहानै भरतपुरबाट हिँड्छन् । त्यसैले चिसोमा टाढाबाट आउनुभन्दा सौगात अघिल्लो दिनै यता बसेका थिए ।

सातजना साथीसँग मिलेर जाँदै थिए उनी । पटिहानीकै आश्विन पौडेल पनि दोस्रो पटक म्याच हेर्न निस्किए । ‘म चितवन राइनोजको पहिलो म्याच हेर्न पनि गएको थिएँ । पहिलो म्याच काठमान्डु गुर्खाजसँग थियो । म सीएमसीबाटै बस चढेर गएँ । पहिलो र पोखरा एभेन्जर्ससँगको अर्को म्याच पनि हेरेर फर्केको थिएँ,’ आश्विनले भने । साथीहरूसहित समूहमा जान लागेका कारण रमाइलो हुने उनले सुनाए ।

‘साथीहरू, दाइभाइहरूसँग जाँदा रमाइलो हुन्छ । उहाँ पुगेपछि पनि समूहमा बसिन्छ । टिमका पक्षमा माहोल बन्छ,’ आश्विनले भने । पाँचवटा बस पूरै भरिन खासै समय लागेन । बसमा जान टिकट भएकाहरूले अघिल्लो दिनै नाम टिपाएका थिए । को–को कुन बसमा चढ्ने, ढोकामा नाम टाँसिएको थियो । यात्रा निःशुल्क त थियो नै । खाजापानीको व्यवस्था पनि पाइन्थ्यो ।

‘पाँच बस सधैं भरिएको छ । हामीले चितवनको म्याच हुँदाका दिनमात्रै बस पठाउने गरेका छौं । पछिल्ला दिनहरूमा त पाँच बसमा मान्छे नअटाउने भइसके । नअटाएकाहरू आ–आफ्नै हिसाबले खुसीका साथ गइरहेका देखेका छौं,’ व्यवस्थापनमा खटिएका सीएमसीका हरि बोहराले भने । दिउँसो खेल हुँदा बिहान ६ बजे र बिहान पहिलो खेल पर्दा अझ सबेरै ३ बजे नै बस छुट्छ ।

A whirlwind journey for a Rhinos supporter

‘हामीले जुन बस व्यवस्था गरेका छौं, त्यसमा भन्दा पनि धेरै समर्थक आ–आफ्नै ढंगले मैदान आइपुगेका छन् । चितवनका मान्छेहरू पनि काठमाडौंमा प्रशस्तै हुनुहुन्छ । सबै टिमको हौसला बढाउन मैदानसम्म आइपुग्नु हाम्रा लागि गर्वको कुरा हो,’ चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले भने । चितवन हालसम्म ६ खेल खेल्दा ३ मा जित र ३ मा पराजित छ । शनिबार बिहान चितवनले जनकपुरसँग खेल्दै छ । चितवनले आफ्नो सुरुआती खेलमा गुर्खाजलाई हराएर एनपीएल यात्राको सुखद सुरआत गरेको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully