काठमाडौँ — एमेच्योर गल्फर सदभाव आचार्यले अन्तिम दिनको खेलमा बाजी मार्दै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् । उनले डिफेन्डिङ च्याम्पियन प्रो नीरज तामाङलाई दुई स्ट्रोकले हराएका थिए । सूर्य नेपाल गल्फ टुर २०२४/२५ को यो दोस्रो प्रतियोगिता हो । सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् ।
उनले शुक्रबार ६ अन्डर ६२ को सानदार स्कोरमा एमेच्योर सद्भावले समग्रमा १५ अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४ अन्डर २५८ को रेकर्ड तोडेका हुन् ।
उपाधि जोगाउने दाउमा रहेका नीरजले ३ अन्डर ६५ सहित समग्रमा १३ अन्डर २५९ को स्कोरको कार्ड बनाए । उनी दोस्रो भए । उनले प्रोतर्फ भने पहिलो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । दिनेश प्रजापति अन्तिम दिन ३ अन्डर ६५ स्कोर बनाउँदै समग्रमा ८ अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार रुपैयाँ हात पारे ।
एमेच्योर राहुल बिके समग्रमा ६ अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४ अन्डर ६४ स्कोर बनाए । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ दोस्रो भए । नेपाल नम्बर एक प्रो भुवनले शुक्रबार ४ अन्डर ६४ सहित समग्रमा ४ अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार जिते । विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३ अन्डर २६९ को स्कोरमा संयुक्त छौटौं स्थान बाँडे । विष्णुले ३ ओभर ७१ मा खेल सके ।
पहिलो दिनका लिडर जयरामले शुक्रबार ६ अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३ देखि १८ औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे । समग्रमा इभन पार ७२ सहित सञ्जय लामा आठौं, २ ओभर २७४ सहित दीपक मगर नवौं र ३ ओभर २७५ सहित तोरणविक्रम शाही क्रमशः आठौं, नवौं र दसौं भए । सञ्जयले ४ अन्डर ६४, दीपकले ३ ओभर ७१ र तोरणले ३ अन्डर ६५ बनाए । उनीहरूले क्रमशः ४५ हजार, ३८ हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे ।
सद्भाव अन्तिम दिन खेल सुरु गर्दा नीरजभन्दा एक स्ट्रोकले पछि थिए । फ्रन्टनाइनको खेल सकिँदा नीरजसँग एक स्ट्रोकको अग्रता थियो । दुवैले फ्रन्टनाइन ४ अन्डर ३० मा सके । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । नीरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे ।
११ औं होल टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बर्डी प्रहार गरे भने नीरजले बोगी खेले । सद्भावले एक स्ट्रोकको अग्रता बनाए । उनले १३ औं होलमा पनि एक शट बचाएसँगै दुई स्ट्रोकको अग्रता लिए । यही अग्रता निरन्तरता दिँदै सद्भावले ब्याकनाइन २ अन्डर ३२ मा सकेर उपाधि जिते । नीरजले भने ब्याकनाइन १ ओभर ३५ मा पूरा गरे । सद्भावले बोगीरहित प्रदर्शन गरेका थिए ।
दिनेशले फ्रन्टनाइन २ अन्डर ३४ मा खेले । पहिलो, चौथो, पाँचौं र आठौं होलमा एक–एक शट बचाए । तर, सातौं होलमा डबल बोगी खेपे । यसपछि १४ औं होलको बोगीविरुद्ध १० र १३ औं होल बर्डीले ब्याकनाइन १ अन्डर ३३ मा सके । विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कृत गर ।
