गणेशमान स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Ganeshman Smriti National Open Kick Boxing Start

काठमाडौँ — ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीबार सुरु भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, आर्मी, एपीएफसहित सातै प्रदेशका १ सय ३ पुरुष र ४९ महिला खेलाडीको सहभागिता छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा समावेश छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ८–८ हजार पुरस्कार प्राप्त गर्ने छन् । स्वर्ण विजेतालाई अनर मोबाइल प्रदान गरिने छ ।

टिम च्याम्पियनले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही २५ हजारसहित अनर मोबाइलबाट पुरस्कृत गरिने छ ।

बिहीबार पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिश बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनल पुगेका छन् ।

महिला ४५ केजीमुनि एपीएफकी रीना माझी, बुदो उसुकी सरु राई, टोखा सो क्योकुसिनकी अस्मिता दोङ तामाङ र आयोजककी करिश्मा कार्की सेमिफाइनलमा पुगे । महिला ६० केजीमुनि एपीएफकी सुमित्रा नगरकोटी, आर्मीकी अप्सरा कुमाल, स्ट्रोङगेस्ट मुवाँथाईकी समनेह राज्वी र थुलुङ दूधकोशीकी मेसकुमारी कार्कीले सेमिफाइनल यात्रा तय गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully