लुम्बिनी — रूपन्देहीको गैडहवा गाउँपालिका १ का अजयकुमार चौहान जिल्लाबाट उदाएका प्रतिभावान क्रिकेटर हुन् । उनले सिनियर टिमबाट राष्ट्रिय प्रतियोगितासँगै यू–१९ र यू–१६ टोलीबाट धेरैपटक खेलिसकेका छन् ।
जिल्लालाई प्रतिनिधित्व गरिरहेका अजयलाई रूपन्देही जिल्ला क्रिकेट संघले मासिक तलब सुविधा दिन थालेको छ । उनले मासिक ५ हजार रुपैयाँ पाउँछन् । अजयजस्तै जिल्लामा सक्रिय रहेका क्रिकेट खेलाडीहरूलाई रूपन्देही क्रिकेट संघले मासिक तलब उपलब्ध गराउने थालेको छ । संघले चालु आव ७ खेलाडीलाई तलब दिनेछ ।
क्रिकेटर अजय रकम धेरै, थोरैभन्दा पनि खेलाडीलाई जिल्लामा यसरी प्रोत्साहन गर्ने कार्य सकारात्मक रहेको ठान्छन् । उनले भने, ‘कम्तीमा यो पैसाले क्रिकेट खेल्नकै लागि आवश्यक डाइट किन्न सकिन्छ । घरमा बुवाआमासँग पैसा मागिरहने झन्झट हट्छ । मलाई त व्यक्तिगत रूपमा अत्यन्तै खुसी लागेको छ ।’
जिल्लाबाटै खेल्दै १२ वर्षकै उमेरमा प्रदेशबाट यू–१९ टिममा परेकी एन्जिला पाठक पनि तलब पाउने भएपछि खुसी छिन् । ‘म त भर्खरै क्रिकेटमा प्रवेश गर्दै छु,’ उनले खुसी व्यक्त गर्दै भनिन्, ‘अहिलेबाट नै आर्थिक रूपमा सहयोग पाउने भएपछि खेल्नमा थप रुचि बढेको छ । जिल्लाकै खेलाडीले पनि तलब पाउँछ भन्दा गर्व महसुस भएको छ ।’
रूपन्देही जिल्ला क्रिकेट संघले गत वर्ष खेलाडी कल्याणकारी कोष स्थापना गरेको थियो । सोही कोषमार्फत आव २०८१/०८२ का लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने गरी ७ खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।
उनले भने, ‘हामीले गत वर्ष ९ खेलाडीलाई रकम उपलब्ध गराएका थियौं,’ उनले भने, ‘यस वर्ष आर्थिक मन्दीका कारण दुईजना घटाउनुपर्यो । तर, हामी जतिसक्दो खेलाडीलाई दिन पाए हुन्थ्यो भन्नेतर्फ अघि बढेका छौं ।’
क्रिकेटमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्न यस्तो सुविधा दिन लागिएको उनले बताए । उनका अनुसार मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ २, यू–१९ तर्फ २ र महिला खेलाडीतर्फ ३ जना छन् । ‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौं,’ अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडीलाई रकम प्रदान गर्दै आइरहेका छौं ।’ संघका अनुसार चालु आवमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक ५ हजार सुविधा पाएका हुन् । १९ वर्षमुनि सन्तोष यादव र रमेश कुर्मी छन् । महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एन्जिला पाठकले सुविधा पाउनेछन् ।
संघका सदस्य प्रथम पराजुलीले खेलाडी कल्याणकारी कोषका लागि रूपन्देहीको सियारी गाउँपालिका–१ का अध्यक्ष अरुण शाही र वडा २ का अध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिकलाई कल्याणकारी कोषमा उपलब्ध गराउँदै आएका छन् । ‘हामीलाई दुई वडा अध्यक्षले उपलब्ध गराएको रकम र रूपन्देही क्रिकेट एकेडेमीबाट प्राप्त आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौं,’ उनले भने, ‘सहयोगी दाता थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन हामी पनि लागिपरेका छौं । क्रिकेट र खेलाडीको हितमा काम गर्दै जाने नै हो ।’
