टस जितेर विराटनगरको ब्याटिङ, नेदरल्यान्ड्सका कप्तान मैदानमा उत्रँदै

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

After winning the toss, Biratnagar bats, Netherlands captain walks into the field

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर विराटनगरले ब्याटिङ रोजेको हो ।

विराटनगरबाट नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस खेलिरहेका छन् । उनलाई अकिब इल्यासको स्थानमा ल्याइएको छ । विरानगरबाट ओपनिङ ब्याटर लोकेश बमले विकेटकिपिङको जिम्मेवारी पनि लिँदै आएका थिए । तर अत्तिरिक्त भूमिकामा बमले आफ्नो प्रदर्शनलाई न्याय गर्न सकेका थिएनन् । इडवार्डस एनपीएलका लागि दुई दिनअघि मात्र काठमाडौं आइपुगेका थिए ।

विराटनगरको प्लेइङ ११ मा अर्को परिवर्तन गरिएको छ । सुवास भण्डारीको स्थानमा अनिल खरेललाई खेलाइएको छ । त्यस्तै पोखराले अघिल्लो खेल खेलेको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । आकाश चन्द, दीलिप नाथ र म्याट क्रिच्लेको स्थानमा तृतराज दास, किरण ठगुन्ना र जेन मलिकलाई खेलाएको छ ।

पोखरा र विराटनगर दुवैले आफ्नो पहिलो ४ खेलमा १ मा मात्र विजय हात पार्न सकेका छन् भने तीन खेलमा पराजय भोगेका छन् । यस खेलमा विजय हात पार्ने टोलीको प्लेअफ पुग्ने सम्भावना बन्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित हुनेछ । 

कान्तिपुर

Link copied successfully